Logo
१८ पुस २०८१, बिहीबार
(November 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबैले दिए राजीनामा, क-कस्ले पाँउदैछन् नयाँ जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि सचिवालयको सबै सदस्यले आइतबार राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबै सल्लाहकारले राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने ‘हामी सबै बसेर सामूहिक निष्कर्ष निकालेका हौं, प्रधानमन्त्रीले एक-दुई जनालाई छोड भन्न नमिलेपछि सबैलाई राजीनामा दिन भन्नुभएको हो। हामीमध्ये कोही फर्किन पनि सक्छौं।’

केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने उनले बताए । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

ओलीले केही समयअघि मन्त्रिपरिषद् हेरफेर हुने संकेतसमेत गरेका थिए । पार्टी भित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् ।

चित्तबुझ्दो काम नभएपछि सचिवालय हेरफेर

काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेका हुन् । ‘आफ्नो कामको सहजताका लागि सचिवालयमा रहेकाहरूले छाडेर सहयोग गरिदिन’ प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार विष्णु रिमाललाई भनेका थिए ।

रिमालले सचिवालयका सबै सदस्यको शुक्रबार बैठक गरी प्रधानमन्त्रीले बाटो सहज बनाइदिन आग्रह गरेको जानकारी गराएका थिए । प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीको मनसाय बमोजिम अब आ-आफ्नो अनुकूलतामा राजीनामा दिँदा सहज हुने धारणा राखेका थिए ।

प्रधानमन्त्रीको यस्तो सन्देश पाएपछि सचिवालयका सबैले मंसिर १ देखि लागू हुने गरी छाड्ने निष्कर्ष निकालेको स्रोतले बतायो ।राजीनामाबारे सचिवालयका सदस्यहरूले भने औपचारिक रूपमा बोलेका छैनन् ।

प्रधानमन्त्रीले नयाँ टिममा पनि अहिलेकै केहीलाई समावेश गर्ने सम्भावना छ । नयाँ बन्ने टिममा अहिलेकामध्ये बज्राचार्य दोहोरिने सम्भावना छ । उनी प्रधानमन्त्रीको निजी भेटघाटदेखि उपचार र औषधिहरूको मात्रा मिलाएर खुवाउनेसम्मको काममा सहयोगी भूमिकामा छन् ।

प्रमुख सल्लाहकार रिमालले पहिलो प्रधानमन्त्रीकालदेखि नै ओलीसँग निकट भएर काम गरेका थिए । तर उनको कार्यशैलीका कारण पार्टीभित्रकै नेतादेखि बाहिरसम्मै प्रधानमन्त्रीको आलोचना हुने गरेको छ ।

त्यसैले उनलाई दोहोर्‍याउनेभन्दा कुनै अर्को नियुक्ति दिइने सम्भावना रहेको स्रोतको दाबी छ । केही मन्त्रीको कार्यसम्पादनप्रति पनि प्रधानमन्त्री असन्तुष्ट छन् ।

प्रधानमन्त्री निकट एक नेताका अनुसार सचिवालय सदस्यहरूको हेरफेरपछि ओलीले त्यस्ता मन्त्रीलाई हटाउने छन् ।

पछिल्लो एक सातायता प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको सघन छलफलमा सरकारलाई नयाँ गति दिन सचिवालयदेखि मन्त्रिपरिषद्सम्मै हेरफेरको चाहना राखेको स्रोतले जनायो ।

 

 

 

 

प्रकाशित मिति: Nov 10, 2019

प्रतिक्रिया दिनुहोस्