Logo
९ मंसिर २०८१, आईतबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा शुरु

नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया-प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ ।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा व्यापार-वाणिज्यका साथै आर्थिक तथा विकास सहायता, संयुक्त लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, पर्यावरण, मानव संशाधन विकासका क्षेत्रमा सङ्घद्वारा प्राप्त सहयोग अभिवृद्धिलगायत विषयमा पनि विचारविमर्श हुनेछ ।

बैठकमा नेपालको राजनीतिक स्थितिबारे पनि छलफल हुनेछ । सङ्घले मानवीय सहायताका साथै युरोपेली लगानी बैंकमार्फत भौतिक पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको छ ।

एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका निम्ति उक्त बैंकले पाँच करोड ५० लाख युरो ऋण सहयोग गरेको छ । भूटानी शरणार्थीलाई खाद्य सहयोग तथा शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयमार्फत पनि सहयोग गर्दै आएको छ ।

हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा पालैपालो उक्त बैठक हुँदै आएको छ । पारस्परिक लाभका विषयमा विचारविमर्श गर्न सन् १९८६ मा संयुक्त आयोग स्थापना भएको हो ।

नेपाल र युरोपेली सङ्घबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सङ्घले नेपालको राजनीतिक एवं आर्थिक क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको छ । नेपालको निर्यात प्रवद्र्धनका निम्ति सङ्घले नेपाली उत्पादनलाई सन् २०१५ सम्मका लागि ‘ड्युटी फ्री, कोटा फ्री’ सुविधा प्रदान गरेको थियो ।

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्