उपेन्द्र यादवलाई पद छाड्न प्रधानमन्त्री ओलीको अल्टिमेटम, यादव प्रचण्डको शरणमा
प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पद छाड्न अल्टिमेटम दिएका छन् ।
क्याबिनेट बैठकमा पनि नआउने, मन्त्रालयको काम पनि राम्ररी नगर्ने, उल्टै सरकारको विरोधमा बयानबाजी गर्ने भए तपाईं सरकार छोड्नुस भनेर प्रधानमन्त्रीले संदेश पठाएको स्रोतको दावी छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले एक हफ्ताको समय दिँदै आफै राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । अन्यथा मन्त्रीपरिषदबाट हटाउन सक्ने संकेत पनि दिएका छन् ।
श्रोतका अनुसार भेटका क्रममा प्रचण्डले प्रम ओलीसंग भेटेर यसबारेमा कुराकानी गर्ने यादवलाई आश्वासन दिएका छन् ।
‘उपेन्द्रजीको काम कारबाहीबाट प्रधानमन्त्री असन्तुष्ट रहँदै आउनुभएको थियो, पटक-पटक सच्चिन भने पनि उहाँले त्यसका लागि कुनै काम गर्नु भएन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अझ सरकारकै आलोचनामा समय खर्चिन थालेपछि प्रधानमन्त्री थप रुष्ट हुनुहुन्छ।’
स्रोतका अनुसार मन्त्रीमण्डलमा बसेर सरकारको आलोचना गर्नुभन्दा ‘विकल्प खोज्न’ प्रधानमन्त्री ओलीले यादवलाई निर्देशन दिइसकेका छन्। त्यसबारे यादवले पनि आफूनिकटसँग प्रधानमन्त्रीका भनाइबारे छलफल सुरु गरिसकेका छन्।
‘सिधै सरकार छाडेर जानुहोस् भन्नु भएको छैन तर, त्यतातिर संकेत भने गरिसक्नुभएको छ,’ सम्बद्ध स्रोतले भन्यो।
स्रोतका अनुसार सरकारमा बसेर यादव भारतीय गुप्तचर संस्था ‘रअ’ अनुसार चल्न खोजेका हुन् कि भन्ने आशंका पनि प्रधानमन्त्रीको छ।
विदेश भ्रमणमा मोह राख्ने तर मन्त्रीमण्डल बैठक छल्न खोज्नेमात्रै होइन, आधारभूत स्वास्थ्यसम्बन्धी नयाँ नीति ल्याउन निर्देशन दिँदा पनि यादवले ल्याउन नसकेकोमा प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोतको भनाइ छ।
सोही पार्टीका अर्का मन्त्री अर्थात् सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भने प्रभावकारी काम गरिरहेको प्रधानमन्त्रीको विश्लेषण छ। तर, यादवले सरकारलाई सफल बनाउन कुनै काम नगरेको प्रधानमन्त्रीको बुझाइ रहेको स्रोतको दाबी छ।
उता, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेपछि उपप्रधानमन्त्री यादव ‘सरकारको नियन्त्रण बाहिर गएको’ प्रधानमन्त्रीको थप बुझाइ रहेको छ।
‘औचित्य र आवश्यकताका आधारमा संविधान संशोेधन’ गर्ने पटक-पटक प्रतिबद्धता जनाए पनि समाजवादीले त्यसलाई ‘बार्गेनिङ टुल्स’ बनाउन खोजेकोमा पनि प्रधानमन्त्री ओली थप असन्तुष्ट छन्।
नेकपा गठबन्धन सरकारमा रहे पनि समाजवादी पार्टी भने उपनिर्वाचनमा प्रमुख प्रतिपक्ष कांग्रेससँग गठबन्धन गरेर निर्वाचन लड्न खोजेको संकेत पाएका प्रधानमन्त्री ओलीलाई थप आक्रोश बनाउने विषय बनेको उनीनिकट स्रोतको भनाइ छ।
‘गठबन्धनको सरकारमा छौं तर उपेन्द्रजी भने धरान उपमहानगर लगायतमा कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्न खोज्दै हुनुहुन्छ,’ स्रोतले भन्यो।
स्वास्थ्य मन्त्रालयको काम कारवाहीबारे समेत असन्तुष्ट बनेका प्रधानमन्त्रीले पछिल्लो समय यादव र उनका पार्टीका नेताहर मार्फत सरकारको सार्वजनिक आलोचना गराएपछि चिढिएका हुन् ।
समाचारश्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले नै मन्त्रीको बारेमा गुनासो गर्न थालेपछि उपेन्द्र यादवलाई त्यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीबाट त्यस्तो सन्देश पाएपछि उपेन्द्रले प्रचण्डलाई गुहारेको श्रोतको दावी छ । उनले प्रचण्डलाई भेटेर नै प्रधानमन्त्रीले आफूलाई हटाउन लागेको जानकारी गराउँदै यसमा मध्यस्थता गर्न आग्रह गरेका छन् ।
गत वर्ष पुस २२ गते सरकारमा सहभागी हुने बेला गरिएको ११ बुँदे समझदारीपत्रबारे समाजवादी पार्टीले ध्यानाकर्षण गराएको थियो।
तर, त्यसमा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विपक्षमा सरकार नरहेको तर आवश्यकता र औचित्यका आधारमा मात्रै गर्ने भन्ने पुरानै भनाइ राख्दै आएका छन्।
बालुवाटारको अर्को बुझाइ
गठबन्धन राजनीतिमा नैतिकता प्रदर्शन गर्न नसकेको पनि बालुवाटारको अर्को बुझाइ छ। त्यसमाथि, समाजवादी पार्टीका अर्का अध्यक्ष भट्टराईले सार्वजनिक मञ्चबाट सरकारको आलोचना गर्दा यादवले नियन्त्रण गर्न नखोजेको, संविधान संशोधन नभएमा छठलगत्तै सरकार छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको, पहिचानवादीको नाममा पुनः मुलुकलाई अराजक दिशातर्फ लैजान खोजेको बुझाइ नेकपाभित्र बढेको छ।
प्रधानमन्त्री ओली आफूसँग असन्तुष्ट भएको संकेत पाएपछि सरकारमा बस्ने वा नबस्ने भन्ने निर्णय केन्द्रीय समितिले गर्ने यादवले सार्वजनिक गरिसकेका छन्। ‘सरकारमा बस्ने वा नबस्ने निर्णय केन्द्रीय समितिले गर्नेछ, अरूले बोलेर हुन्नँ,’ यादवले सार्वजनिक रूपमै भनिसकेका छन्।
केन्द्रीय समिति निर्णायक
नयाँ शक्तिसँग एकीकरण गरेर नयाँ पार्टी समाजवादी गठन गरेको परिस्थिति र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण प्रक्रिया अघि बढिरहेको सन्दर्भमा कात्तिक ३०-३१ गते केन्द्रीय समिति बैठक बोलाइएको छ।
नयाँ शक्तिबाट आएका नेताहरूले ओली सरकार छाड्न दबाब बढाएको र अध्यक्ष यादवसँग प्रधानमन्त्री असन्तुष्ट रहेको सन्दर्भमा नै उक्त बैठक चल्दैछ।
सङ्घीय परिषदका अध्यक्ष भट्टराईले त संविधान संशोधनका लागि ‘अल्टिमेटम’ दिने र अल्टिमेटमभित्र संविधान संशोधन नभए सरकार छाड्ने चेतावनी दिइसकेका छन्।