Logo
९ मंसिर २०८१, आईतबार
(November 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जताततै छठको रौनक : “प्रकृति-पानी पूजनीय छ” भन्ने सन्देश

सांस्कृतिक लोक पर्व मानिने छठको रौनकता नेपाल भारतमा उस्तै उस्तै देखिएको छ । सामाजिक र धार्मिक महत्व राख्ने सर्दभावको पर्व छठ नेपालमा मात्र होइन छिमेकी मुलुक भारतमा पनि त्यतिकै महत्व र उल्लासमय रुपमा मनाउने गरिन्छ । त्यसो त यो पर्वको सुरुवात नै भारतको बिहारबाट सुरु भएको इतिहास छ ।

छठ पर्वका लागि भारतको पटनामा अवस्थित गंगा नदी सजाइएको छ । छठको लागि दीघा घाट, एनआइटी घाट, काली घाट, बाँस घाटलगतय अन्य घाटहरु पनि सजाइएको छ । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ गत बिहीबारदेखि शुरु भएको हो ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्तर्गत व्रतालुले आज (शनिबार) बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ ।

लोक सांस्कृतिक पर्व छठको एउटै सन्देश : “प्रकृति र पानी पूजनीय छ”

चन्द्र किशोर
छठ पर्व र पानीबीच अभिन्न नाता छ । चारै दिन पर्वका सामग्रीको स्वच्छता, स्नान, अर्घ्य र अनुष्ठान सबैका लागि पानी चाहिन्छ । कुनै जलाशयको किनारमा पूजा गर्नु यसको अनिवार्य पक्ष हो । पछिल्ला वर्षहरूमा आफ्नै घरआँगनमा पूजा गर्न खोज्नेहरूले पनि कृत्रिम जलाशय बनाएकै हुन्छन् । छठ मात्रै किन ? हाम्रा अन्य पर्व र अनुष्ठानले पनि पानीबिना पूर्णता पाउँदैनन् ।

जन्मदेखि मृत्युसम्मका कुनै पनि सांस्कृतिक कर्म पानीबिना पूर्ण हुँदैनन् । छठकै लोकगीतहरूमा पानीको गरिमा र यसको प्रयोजन अभिव्यञ्जित भएको पाइन्छ । छठमार्फत पानीप्रति आदराञ्जली प्रकट गरिन्छ । नदी र पोखरीको सामीप्य नपाएको अहिलेको पुस्ताका लागि नदी धर्मसँग परिचित हुने अवसर हो यो ।

छठको सामाजिक आयामतर्फ नजर लगाउँदा, भोजपुरी क्षेत्रहरूमा छठ पूजाका लागि स्थायी पिण्ड बनाएर राख्ने चलन छ, जुन नदी र पोखरीको घाट किनारमा हुन्छ । भोजपुरी क्षेत्रमा लामो समयदेखि चल्दै आएको यो चलन मिथिला क्षेत्रमा भने प्रायः छैन । इँटा वा ढुंगाले बनाइने त्यस्ता बनाइएका पिण्डको लोकइतिहासबारे अपेक्षित जानकारी नपाइए पनि भोजपुरी क्षेत्रमा तिनको संख्या वर्षेनि बढ्दो छ । पछिल्ला दशकमा संयुक्त परिवार विघटित हुँदै गएकाले एउटै परिवारमा अब कैयौं छठी माई भइसकेका छन्, जसका लागि अलग–अलग पिण्ड बनाइन्छन् । परिवार र समुदायबीच एकभन्दा बढी र्भयाङवाला पिण्ड बनाउने होड चल्ने गर्छ । मानौं एक–अर्काभन्दा श्रेष्ठ र शीर्ष देखिने अघोषित प्रतियोगिता हो छठ । कतिपय ठाउँमा त छठी मैयाको अस्थायी प्रतिमा नै बनाइएको पाइन्छ । छठलाई पहिचानको राजनीतिसँग पनि जोड्ने गरिएको छ । केही समययता शैक्षिक प्रतिष्ठान र सामाजिक संस्थाहरूले यस्तो कार्यलाई प्रश्रय दिएका छन् । तर यसले केही प्रश्न पनि खडा गरेको छ- छठ पर्व अनुष्ठान हो कि अभिनय ? आस्था हो कि आडम्बर ? छठ पर्वलाई अत्यन्त आस्था र निष्ठासाथ मनाउने चलन छ । यसमा कुनै पुरोहित वा कर्मकाण्ड हुँदैन ।

कृषि र प्रकृतिसँग जोडिएको यो पर्वमा बजारले प्रवेश पाएलगत्तै आडम्बरले ठाउँ लिन थालेको छ । त्यसैले पहिचान प्रदर्शनका लागि छठ पर्वको कलात्मक मञ्चनलाई कतिपयले औचित्यपूर्ण ठानेका छन् भने, कतिपयले यसबाट मौलिकता मासिने खतरा देखेका छन् । पूजा समितिहरूले अतिथि निम्त्याउने र तिनबाट अर्घ्य दिन लाउने नयाँ चलन चलाएका छन्, जसमा उनीहरू यस पर्वको स्वीकार्यता बढेको र राजकीय मान पाएको अनुभूति गर्छन् ।

छठ समावेशी हुँदै गयो, पहाड उक्लियो भन्ने जस्ता सकारात्मक सन्देश फैलिँदै जानुले यो लोकपर्वको गुरुत्वलाई बढाए पनि उपयोगितावादको अन्धदौडका कारण छठमा अभिव्यक्त हुने प्रकृतिप्रतिको कृतज्ञता बिर्सिइँदै गएको छ । यही कारण हो, छठ तयारीको क्रममा जलाशयहरूको सरसफाइ र मर्मत खुलेर गरिए पनि, सम्पन्न भएपछि पूजा सामग्रीका अवशेष त्यत्तिकै छाडिन्छन्, जसले फेरि प्रदूषण बढाउँछ । अर्कातिर, पारम्परिक जलस्रोतहरू विघटित हुँदै गएका छन् । पोखरी र इनार मासिँंदै गएका छन्, अतिक्रमित भएका छन् । नदीसँग समाजको सम्बन्ध टुट्दै गएको छ । तराईमा पानी एउटा ठूलो चिन्ता, गम्भीर मुद्दा र संकटको सवाल बन्दै गएको छ ।

नदी वा जलाशयलाई हाम्रो समाजले प्रकृतिको एउटा जीवित सत्ताका रूपमा स्वीकार गर्दै आएको छ । त्यसैले समाजले कुनैलाई माई भन्यो त कुनैलाई दिदी वा बहिनी । यसको अर्थ थियो-पानीको महत्त्व बुझ्नु, पवित्रताप्रति हेक्का राख्नु र स्रोतहरूको संरक्षण गर्नु । तर छठ पर्वले विस्तार पाउँदै गए पनि यसमा अन्तर्नि्हित लोकसन्देश भने विस्मृत हुँदै गएको छ । पानीसँग अटुट नाता जोडिएको पर्व मनाउने समाजले पानीको पुर्ख्यौली ज्ञान बिर्संदै गएको छ ।

भौगोलिक विविधता, पानीको उपलब्धता र सामाजिक–सांस्कृतिक अन्तरहरूका कारण विभिन्न ठाउँका मानिसको पानी प्रयोगको परम्परा बेग्लाबग्लै रूपमा भए पनि बाँचिरहेको हुन्छ । यो कुनै शासक वा संगठित संस्थाको प्रयत्नले भएको हुँदैन । तर परिवर्तित समयमा पानीमाथिको स्वामित्व, प्रयोग र प्रविधिको सान्दर्भिकता फेरिँदै गएको छ । प्रत्येक समाजमा आ–आफ्नै प्रकारका सूक्ष्मता र विशेषताहरू हुने भएकाले फैलिंदो छठले पनि आफ्नो पारम्परिक थलोका मूल विशेषताहरूलाई अन्यत्रका परम्परासँग जोड्दै गयो भने यो जीवन्त रहिरहन्छ । पानीको इज्जत गर्नु, मितव्ययी तरिकाले प्रयोग गर्न सिक्नु भनेकै छठको महत्त्व बुझ्नु हो ।

बजारको दुनियाँ हो यो । बजारले हामीलाई पानीको मूल्य बताउँछ । अनि हामी बुझ्छौं, बोतलमा बिक्रीका लागि राखिएको पानी कति महँगो छ । पानी सार्वजनिक सम्पत्ति भए पनि निजीकरण हुँदै गएको छ । पानीको आपूर्तिका लागि समाधानका रूपमा रोजिएको निजीकरण आफैमा संकट भएर खडा हुँदै छ । प्रकृतिको वरदानका रूपमा सहज प्राप्त पानीलाई हामी जसरी निस्फिक्री चलाइराखेका हुन्छौं, त्यही पानी किनेर ल्याउँदा हाम्रो प्रयोगको सीमितता हुन जान्छ । स्विमिङ पुललाई जति ध्यान नदिएकाले पोखरी र इनारहरू मासिँदै गए । नदीनालालाई हामीले साँघुरा र प्रदूषणयुक्त बनायौं ।

तराईमा आसन्न पानी संकट वर्षौंका गलत सरकारी नीतिहरूको नतिजा हो । बहुतहका सरकारहरू नदी, पोखरी र इनारको अस्तित्व जोगाउनभन्दा पनि मास्नमा बढी केन्द्रित देखिएका छन् ।

नदीदोहन गरी आयआर्जन गर्दै छन् भने पोखरी र इनारहरू फगत घडेरीका जग्गा । राज्यका लागि पानीको अर्थ सिंचाइ र नहर, निकास र बाँध, जलाशय र जलविद्युत्, अन्तरप्रादेशिक नदीहरूको स्रोतमाथिको व्यवस्थापन र खानेपानी आपूर्ति मात्रै बनेको छ । भूजल र त्यससम्बद्ध समस्याप्रति चासो देखिँंदैन । पारम्परिक जलस्रोतहरूको रक्षाका मौलिक उपायहरूप्रति पनि गम्भीरता पाइँदैन । समाजको पानीमाथिको अधिकार वा साझेदारीसम्बन्धी विमर्श कतै सुनिंँदैन । भुइँतहमा पानीको प्रभुत्वलाई लिएर जुन द्वन्द्वहरू खडा हुँदै छन्, तीप्रति बहुतहका सरकारले आँखा चिम्लेका छन् ।

पानीका ससाना स्रोतको व्यवस्थापनका परम्परागत र उपयुक्त प्रविधिहरूबारे भुइँतहमै विचार साझेदारीको आवश्यकता बढ्दै गएको छ । पानीमाथिको पहुँच र प्रभुत्व साँघुरिँदै गर्दा स्थानीय समुदायहरूमा तिनको जीवन र मूल्य–मान्यतामा पर्ने असरको कथा छठ पर्वको बेला स्पष्ट हुन्छ । कुनै बेला इनारको पानीले प्रसादका परिकारहरू बनाइन्थे, अब ती गाउँ–टोलमा इनारै छैन, त्यहाँ चापाकल वा धाराको पानी प्रयोग गरिन्छ । अत्यन्त प्रदूषित पोखरी वा नदी किनारमा भव्य पण्डाल बनाइ पूजा गर्न थालिएको छ । पानीका स्रोतहरू प्रदूषित गर्ने जुन जघन्य अपराधमा समाज स्वयंको हिस्सेदारी छ, त्यसको प्रायश्चित्त आडम्बरयुक्त पूजनले सम्भव हुँदैन । लोकपर्व छठको एउटै सन्देश हो-पानी पूजनीय छ ।

प्रकाशित मिति: Nov 2, 2019

प्रतिक्रिया दिनुहोस्