Logo
१२ आश्विन २०८१, शनिबार
(November 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीमा उपचुनाव : नेकपाले उम्मेदवारकाे टुंगाे लगायाे

गुल्मी : आउँदो मंसिर १४ गते हुने उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुंगो लगाएको छ ।

गुल्मीको रुरु गाउँपालिका ६ को रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । सिञ्जाली त्यही वडाका वडा सदस्य हुन् । उनलाई वडा सदस्य पदबाट राजीनामा गराइ वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए ।

नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए । तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ थियो । रुरु गाउँपालिकामा पालिकाहरुको निर्वाचनमा काङ्ग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल रहेको थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जित हासिल गरेको थियो ।

वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याउनुभएको थियो भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याउनुभएको थियो । २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनअनुसार ६ नम्बर वडामा जम्मा एक हजार नौ सय ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका ७ का वडा सदस्य थम्मनबहादुर बस्नेतको पनि २०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, पालिकाको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधि सभा सदस्यबाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन ।

प्रकाशित मिति: Nov 1, 2019

प्रतिक्रिया दिनुहोस्