दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी
राँची : भारतले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ २०२ रनले जितेको छ । यो जितसँगै तीन खेलको शृङ्खलामा भारत ३-० ले विजयी भएको हो ।
चौथो दिनको मंगलबारको खेलमा पहिलो सत्रमा १२ बलभित्रै दक्षिण अफ्रिकाको अन्तिम २ विकेट पतन भएको थियो । भारतका लागि अन्तिम २ विकेट शाहबाज नदीमले लिएका थिए ।
भारतले लगातार ११ वटा टेस्ट शृङ्खलामा विजय हासिल गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अस्ट्रेलियाले देशभित्र लगातार १० वटा टेस्ट शृङ्खला जितेको थियो ।
दक्षिण अफ्रिकाले यस शृङ्खलामा लज्जास्पद प्रदर्शन गरेको छ । भारतसामु ३ मध्ये २ वटा खेलमा दक्षिण अफ्रिका इनिङले पराजित भएको हो । एक दशकभित्र दक्षिण अफ्रिकाको यो पहिलो लज्जास्पद प्रदर्शन हो ।
भारतले पहिलो इनिङमा ४९७ रन बनाई पालि समाप्तीको घोषणा गरेको थियो । त्यसपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले दुबै इनिङमा खराब प्रदर्शन गरेको थियो ।
दक्षिण अफ्रिका पहिलो इनिङमा १६२ रनमा अलआउट हुँदै फलोअनमा परेको थियो । दोस्रो इनिङमा दक्षिण अफ्रिकी टोली १३३ रनमै समेटिएको थियो ।
भारतीय ब्याट्सम्यान मयङ्क अग्रवाल (२१५), विराट कोहली (२५४ अविजित) र रोहित शर्मा (२१२) ले दोहोरो शतक बनाएका थिए ।
भारतीय टिमका प्रशिक्षक रवी शास्त्रीले भारतीय बलरले पनि उत्तिकै राम्रो प्रदर्शन गरेको बताए । उनले आफ्नो टिमको मुख्य ध्यान नै २० विकेट लिनेमा केन्द्रित थियो भन्दै ब्याटिङमा त भारतको प्रदर्शन प्रशंसालायक रहेको बताए ।
भारतले यसअघि विशाखापटनम र पुणेमा खेलिएका दुबै टेस्ट जितेको थियो । यी खेलमा भारतीय बलर मोहम्मद शामी र उमेश यादवले १० विकेट लिएका थिए ।
भारतले यही नोभेम्बर ३ देखि बंगलादेशविरुद्ध २ टेस्ट र ३ टी२० प्रतियोगिता भारतमै खेल्दैछ । तर यो शृङ्खलामा सहभागी हुने बंगलादेशी मुख्य खेलाडीहरुले तलब वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कारण शृङ्खला नै खतरामा परेको छ ।