पाकिस्तानद्वारा कश्मीरमा गोलाबारी : २ भारतीय सैनिकको मृत्यु
जम्मू-कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा गोलाबारी भएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा पाकिस्तानको हात रहेको र त्यस गोलीबारीमा आफ्ना २ सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो ।
उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य ३ जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण २ घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।
गत १५ सेप्टेम्बरमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यस वर्षमात्र पाकिस्तानले २०५० भन्दा बढी पटक युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका थिए । यसमा २१ नागरिकले ज्यान गुमाइसकेका छन् । युद्धविराम उल्लंघनमा आतंकवादीको घुसपैठ पनि शामेल छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले श्रीनगरमा अशान्ति फैलाउने प्रयास गरिरहेको छ । जसका लागि १० भन्दा बढी आतंकवादी श्रीनगर आसपास क्षेत्रमा लुकेर बसेका छन् । खुफिया सुत्रको हवाला दिँदै उनीहरु कारवाहीका लागि उपयुक्त समयको प्रतिक्षामा रहेको बताइएको छ ।