नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनी हाज्मा र आन्दो जेभीलाई
काठमाडौं : धादिङ-काठमाडौं जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका सम्झौता भएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जिम्मा जापानी कम्पनी हाज्मा/आन्दो जेभीसँग ठेक्का सम्झौता गरेको हो ।
नोभेम्बर १ बाट सुरुङमार्ग निर्माणको काम थालिने आयोजना प्रमुख श्यामप्रसाद खरेलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । यो आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक सुरुङमार्ग साढे १३ अर्बमा ठेक्का लागेको हो । काम थालेको ४२ महिनामा सुरुङमार्ग तयार हुने जनाइएको छ ।
यो सुरुङमार्ग निर्माणमा विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने भएको छ । टनेल बोरिङ मेसिन ९टीबीएम० को प्रयोग भने नहुने जनाइएको छ । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।
हाजमा नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । काटेश्वर(सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । उसले नै बिपी राजमार्गको निर्माण गरेको हो ।