विप्लव समूहद्वारा नगरपालिका कार्यालयमा बम बिस्फोट
अछाम : नेत्रविक्रम चन्द विप्लव समूहले शुक्रबार राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालय नजिकै प्रेसरकुकुर बम विस्फोट गराइएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताएका छन् । प्रहरीका अनुसार तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको हो । प्रहरीले विस्फोट गराउने समूहको खोजी तिव्र पारेको छ ।
बम विस्फोटका कारण नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले जानकारी दिए । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउँदमाथि समेत अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।