Logo
२८ पुस २०८१, आईतबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा सिक्का प्रकाशन गरिने

शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ ।

गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उहाँको स्मरणमा सिक्का ल्याउन लागेको छ । रू १० हजार, रू १ हजार र रू १०० मूल्यका १० हजार सिक्का असोजको दोस्रो सातासम्ममा प्रकाशन गर्न लागिएको बैंकका उपनिर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।

बैंकले विभिन्न कालखण्डमा समाजका विभिन्न तह तथा क्षेत्रबाट मुलुकको विकास र प्रगतिमा भूमिका निर्वाह गरेका ऐतिहासिक व्यक्ति तथा संस्थाका नामबाट सिक्का प्रकाशन गर्दै आएको छ ।

सन् १४६९ अप्रिल १५ मा लाहोर नजिकै तलबन्डी गाउँमा जन्मनुभएका गुरु नानकले शिख दर्शन र साहित्यको प्रवद्र्धन गर्नुभएको थियो । उहाँको गाउँ ननकानाका नामले प्रख्यात छ । ननकाना पहिले भारतमा थियो तर विभाजनपछि हाल यो पाकिस्तानमा छ । धार्मिक गतिविधिका माध्यमबाट उहाँले तत्कालीन समाजमा जातीय विभेदको अन्त्य गरी न्याय, समानता, भ्रातृत्व कायम गर्नुभएको हो ।

धर्म रक्षाका लागि मार्गदर्शन गर्नुभएका नानकको दशौँ अवतारका रुपमा गुरु गोविन्द सिंहलाई मानिएको छ । शान्ति, अहिंसा, परोपकार, स्वाभिमानजस्ता विषयवस्तुलाई महत्व दिइएको छ । मानव कल्याण र समाजसेवामा समर्पित रहन समग्र मानवलाई शिक्षा दिइएको उक्त धर्मको दार्शनिक पक्ष भनेको सबै धर्मको सार एउटै हो, ईश्वर सर्वव्यापी छन् भन्ने हो ।

ओमकार परिवारभित्र पर्ने शिख धर्म एकेश्वरवादी धर्म हो । सनातन धर्म संस्कृतिको संरक्षणमा जोड दिएको यस धर्ममा १० गुरुलाई मानिन्छ ।

ती दश गुरुमा नानक देव, सतगुरु अङ्गददेव, अमरदास, रामदास, अर्जुनदेव, हरगोविन्द, हरिराय, हरिकृष्ण, तेगबहादुर र गोविन्द सिंह छन् । यी धर्मगुरुले स्थापित गरेका आदर्श, ज्ञान तथा मान्यतालाई ग्रन्थमा समेटिएको छ । त्यसलाई गुरु ग्रन्थ भनिन्छ । हाल धर्मको आधार भनेको गुरु ग्रन्थ हो । शान्ति, अहिंसा र मानव कल्याणका लागि धार्मिक ग्रन्थको अत्यधिक उपयोग गर्न अनुयायीलाई आग्रह गरिएको छ ।

गुरु नानक नेपालमा आएर पशुपतिनाथ, बालाजुलगायतका क्षेत्रमा भ्रमण गर्नुभएको विश्वास छ । विश्वका विभिन्न मुलुकमा छरिएका ती धर्मावलम्बी हाल करीब २ करोड ७० लाखको सङ्ख्यामा छन् । नेपालमा भने करीब ७ हजारको सङ्ख्यामा छन् ।

गुरुको शिक्षामा श्रम र सेवालाई विशेष महत्व दिएका कारण मेहेनतमा विश्वास गर्ने शिख इमान्दार मानिन्छन् । अन्तरराष्ट्रिय तहमा फैलिएका शिख अनुयायीले शिक्षा, स्वास्थ्य, यातायात, उद्योगलगायत क्षेत्रका विकासमा लगानी गरी प्राप्त हुने आम्दानीको निश्चित एकाइबाट विद्यालय तथा अस्पताल स्थापना गरेका छन् ।

प्रत्येक कात्तिक पूर्णिमामा गुरु नानकको जन्मोत्सव पर्ने हुँदा नेपालका विभिन्न गुरुद्धारामा गुरुग्रन्थका उपदेशको अनुशरण गरिन्छ । यसो गर्दा दुःख, कष्ट र झन्झटमुक्त हुने बताइएको छ । श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्र सिक्का प्रकाशनका लागि क्रियाशिल रहेको थियो । केन्द्रका अध्यक्ष जसपाल सिंहले केन्द्रीय बैंकले सिक्का प्रकाशन गर्न लागेकामा खुसी व्यक्त गर्दै उहाँको योगदानलाई चिरस्थायी बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्