जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधन
हरारे : जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए ।
उनले करिब ४ दशक देशमा शासन गरेका थिए । केही समयदेखि बिरामी अवस्थामा ररेका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् ।
सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल परेका उनी मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताएका थिए ।
जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निवार्चित बनेका थिए । त्यसपश्चात् उनी सन् १९८७ राष्ट्रपति बनेका थिए।
शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको सुरुका वर्षमा उनी निकै लोकप्रिय भएका थिए । तर विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएको उनमाथि आरोप लागेको थियो ।