Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरपालिकाका कर्मचारी बलात्कारको आरोपमा पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं महानगरपालिकाका कर्मचारीलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ । काठमाडौं महानगरपालिका-१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन् ।

पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार पीडित पक्षको उजुरीका आधारमा पुजारीलाई पक्राउ गरिएको हो । पुजारी अहिले महानगरीय प्रहरी बृत्त जनसेवाको हिरासतमा छन् ।

प्रहरीले जबरजस्ती करण मुद्दामा म्याद थप गरेर पुजारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । ‘पीडित बालिकाको पनि स्वास्थ्य परीक्षण भइसकेको छ, अहिले उपचार र काउन्सिलिङ (परामर्श) भइरहेको छ,’ डिएसपी बोगटीले भने ।

प्रहरीका अनुसार पुजारीले ११ वर्षीया बालिकामाथि पटक पटक जबरजस्ती गरेको देखिएको छ । बालिकाका आमाबुवासँग राम्रो चिनजान भएका पुजारीले घरमा एक्लै भएको अवस्थामा बालिकामाथि बलात्कार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘उनी (पुजारी) घरमा आउँदा पनि पीडित बालिकाका आमाबुवाहरु खुसी हुने रहेछन्, बालिकाका आमाबुवासँग एकदमै नजिकको सम्बन्ध रहेछ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘बालिकाका आमाबुवाको विश्वास जितेका पुजारीले घरमा एक्लै रहेकी बालिकामाथि पटक- पटक बलात्कार गर्ने गरेका रहेछन् ।’

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्