Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपडा पसलमा भीषण आगलागी, डेढ करोडको क्षति

संकेतिक तस्विर

नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी भएको छ । उक्त आगजनीमा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको हो ।

आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले रु डेढ करोडको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । विद्युत् चुहिएर आगलागी भएको आशङ्का गरिएको छ ।

उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए । पछिल्लोपटक नेपालगञ्जमा विद्युत् चुहिएर पसलमा आगजनीका घटना बढेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले वैशाखयता मात्रै ४ पसलमा आगलागी भई करोडौँको क्षति भएको बताए । उनले आगलागी पीडित व्यवसायीलाई राहत र क्षतिपूर्तिको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउँदै सहयोगका लागि उद्योगी, व्यवसायीलाई आग्रहसमेत गरे ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्