Logo
२८ पुस २०८१, आईतबार
(August 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौंको नागपोखरीमा भक्तजनको भीड, ३ वटा डुङ्गा सञ्चालन


नाग पञ्चमीको अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार भक्तजनहरु । तस्बिर : रोशन सापकोटा

काठमाडौँ नगरपालिका-१ नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ ।

प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ ।

वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा दर्शन गरेका छन् ।

उक्त प्रतिमा जीर्ण भएका कारण पूmल, अक्षतालगायत वस्तु चढाउनका लागि प्रतिबन्ध लगाइएको वडा नं १ का सदस्य राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले प्राचीनकालमा निर्माण भएको उक्त पोखरीमा नागको बसोबास रहेको र उनीहरु मानव कल्याणका लागि क्रियाशील रहेको ऐतिहासिक किंवदन्ती जोडिएको जानकारी दिँदै नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रशन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुख शान्ति कायम हुने विश्वास व्यक्त गरे ।

विभिन्न खानपिनका बिक्री कक्ष रहेको मेलाबाट प्राप्त हुने रकमलाई पोखरी क्षेत्रको विकास र स्तरोन्नतिका लागि खर्च गरिने क्लबका सहसचिव राजन श्रेष्ठले बताए । नागपोखरीको विशेषतालाई प्रचारप्रसार गर्ने उद्देश्यले करीब एकदशकदेखि यस्तो मेलाको आयोजना गरिएको उनले बताए ।

यसैबीच हिन्दू धर्मावलम्बीले घरघरमा नागको चित्र तथा तस्बीर टाँसेर नागपञ्चमी मनाएका छन् । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन हिन्दू धर्मशास्त्रमा छ ।

बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङजस्ता विपद्बाट सुरक्षित रहिने विश्वास छ ।

प्रकाशित मिति: Aug 5, 2019

प्रतिक्रिया दिनुहोस्