Logo
२ माघ २०८१, बुधबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङका कृषकले गरे ७ लाख अलैँचीका बिरुवा बिक्री

लमजुङका अलैँची कृषकले ७ लाख अलैँचीका बिरुवा बिक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ ।

सो बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताए । उनका अनुसार जिल्ला बाहिरमात्रै चार लाख बिरुवा बिक्री भएको र सो बाट रु २० लाख आम्दानी भएको थियो ।

क्व्होलासोँथर गाउँपालिका-८ घाम्राङका कृषक ईश्वर गुरुङले छ वर्षदेखि शिवानी कृषि फार्म सञ्चालन गरी अलैँचीका बिरुवा उत्पादन गर्दै आएकोमा यस वर्ष एक लाख ५० हजार बिरुवा उत्पादन भएको थियो । उत्पादित बिरुवामध्ये हालसम्म ७० हजार अलैँचीका बिरुवा बिक्री भैसकेको र यसबाट रू तीन लाख ५० हजार प्राप्त भएको उनले बताए ।

त्यस्तै बेंशीशहर नगरपालिका-१० खाँचेका अलैँची कृषक सोमबहादुर तामाङको खाँचे अलैँची तथा जडीबुटी नर्सरी फार्ममा यस वर्ष एक लाख अलैँचीका बिरुवा उत्पादन भएकामा सो बिरुवामध्ये ४० हजार बिरुवा आफैँले रोपेर ६० हजार बिरुवा जिल्ला र जिल्ला बाहिरका किसानलाई बिक्री गरिएको थियो । प्रतिबिरुवा पाँचदेखि छ रुपैयाँसम्म बिक्री गर्दा रू २ लाख ५० हजार आम्दानी भएको उनले बताए ।

केही वर्षअघिदेखि जिल्लाका किसानले अलैँचीखेती व्यवसाय गरेको छोटो समयमै अलैँची खेतीलाई राम्रो आम्दानीको स्रोत बनाउँदै आएका छन् । उक्त शाखाका अनुसार यस वर्ष सात लाख ५० हजार वटा अलैँची बिरुवा उत्पादन भएकामा गत वर्ष २० लाख बिरुवा उत्पादन भएको थियो ।

यस वर्ष उत्पादनसँगै अलैँची बिरुवाको मूल्यसमेत घटेको छ । यस वर्ष प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भयो भने गत वर्ष १३ लाख बिरुवा प्रतिबिरुवा पाँचदेखि साँढे सात रुपैयाँका दरले विक्री गर्दा रू६५ लाखभन्दा बढी आम्दानी भएको उक्त कार्यालयले जनायो ।

असारदेखि भदौ महीनासम्म किसानले अलैँचीका बिरुवा रोप्ने गर्दछन् । जिल्लामा एक हजार ५६ हेक्टर जमीनमा अलैँची खेतीको राम्रो सम्भावना भए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्