मुस्ताङ कोरलानाका : एकीकृत भन्सार बनाउन १हजार ४सय ३८ रोपनी जग्गा
पोखरा : नेपाल र चीन द्विदेशिय महत्वको रुपमा हेरिएको मुस्ताङको कोराला नाकामा एकिकृत भन्सार कार्यालय स्थापना गर्न नेपाल सरकारले जग्गा उपलब्ध गराएको छ ।
चीन तर्फ धमाधम भौतिक संरचना बनिरहन्दा शून्य रहेको कोरला नाकामा नेपाली सेना, भन्सार कार्यालय, शसस्त्र प्रहरी र जनपथ प्रहरीको क्याम्प, अध्यागमन कार्यालय निर्माणका लागि एकहजार चारसय ३८ रोपनी जग्गा उपलब्ध गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रिले जानकारी दिए ।
‘गत असार २१ गते यस बारे निर्णय भएको हो,’ उनले भने, ‘नापी कार्यालय मुस्ताङका प्रमुख सदस्य सचिब रहनेगरी केन्द्रीय सरकारले कोराला नाका भन्सारका लागि जग्गा उपलब्ध गराउन नापजाँच गरी लालपुर्जा हस्तान्तरणको लागि भनेर समिति गठन गरेको थियो। समितिले नापजाँच गरी जग्गाको टुंगो लगाएको हो ।’ भन्सार कार्यालयलाई लालपुर्जा हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको उनले थाहा खबरलाई जानकारी दिए ।
‘पुर्जाहस्तान्तरण भूमिब्यवस्था मन्त्रालय र भन्सार विभागको समन्वयमा छिटै हुन्छ,’ उनले भने । मुस्ताङका प्रदेश सभा सदस्य इन्द्रधारा विष्टका अनुसार नेपाली सेनालाई लोमान्थाङमा करिब १२ सय ७१ रोपनी, जिल्ला भन्सार कार्यालयलाई छोन्हुपमा १ सय ९ रोपनी, शसस्त्र प्रहरी र जनपथ प्रहरीलाई लोमान्थाङमा क्रमश:३३ र १३ रोपनी जग्गा उपलब्ध गराईएको छ ।
त्यस्तै अध्यागमन कार्यालयको लागि छोन्हुपमा १२ रोपनी जग्गा उपलब्ध गराईएको छ । प्रमुख जिल्ला अधिकारी क्षेत्रिले एकिकृति भन्सारको स्वरुपमा बन्ने भएकोले सुरक्षा निकाय, अध्यागमनसँगै क्वारेन्टाइन समेत निर्माण हुनेछ ।