‘चक्रपथ सफाइ अभियान’अन्तर्गत राजधानीमा बालाजुदेखि माछापोखरीसम्मको सरसफाइ सम्पन्न
काठमाडौं : आज शनिबार पनि राजधानीमा १०१ औं दिनका चक्रपथ सफाइ अभियान जारी रहेको छ । घरघरबाट सफाइ अभियान संचालन गर्नुपर्छ भन्ने सन्देशका साथ चक्रपथ सफाई अभियानलाई निरन्तरता दिइएको हो । उक्त अभियानअन्तर्गत बालाजु चोकदेखि माछापोखरीसम्मको सफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
चक्रपथ सफाइ अभियानकोे अवसर पारेर हरेक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बालाजुदेखि माछापोखरीसम्मको सफाइ गरिएको अभियन्ता ताराबहादुर कुँवरले जानकारी दिएका छन् । अभियानका सहसंयोजकसमेत जमकट्टेलका अनुसार सफाइ अभियानमा स्थानीय प्रहरी प्रशासन, विद्यालय, सामाजिक संघ, संस्था र स्थानीय महिलाहरुले निरन्तर साथ दिइरहेका छन् ।
आजको सफाइ अभियानमा आफनो उपस्थिति जनाउन स्थानीय प्रहरी र महिलादेखि सवाजसेवी, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालसमेतको सहभागिता रहेको थियो ।
२०७१ सालबाट सुरु गरिएको सो अभियान अन्तर्गत हालसम्म कलंकीदेखि माछा पोखरीसम्ममा २७८ ट्रक फोहोर संकलन गरी व्यवस्था गरिएको छ । अभियन्ता कुँवरका अनुसार गत शनिबार हालसम्म निरन्तर सो अभियानमा सहभागी भएकाहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा सम्मान पनि गरिएको थियो ।
यो अभियान हरेक शनिबार बिहान ७ बजेबाट ९ बजेसम्म चक्रपथ क्षेत्रमा संचालन हुने गरेको छ ।