सांसद र वडा अध्यक्षको कुटपिटबाट बाढी पीडित अस्पताल भर्ना
जनकपुर : राहत तथा उद्धारका विषयमा कुराकानी गर्न वडा अध्यक्षको घरमा पुगेका बाढी पीडितले वडा अध्यक्षले नै आफूहरुमाथि हातपात गरेको आरोप लगाएका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ का बाढी पीडित राहत र सहयोग नपाएपछि गुनासो गर्नका लागि वडा अध्यक्षको घर पुगेका बाढीपिडितलाई समाजवादी पार्टी, नेपालका प्रदेश २ का प्रदेशसभा सदस्य रामआषिश यादव र उनका भाइ वडा अध्यक्ष प्रमेश्वर यादवले आफूहरुमाथि हातपात गरेको बताएका हुन् ।
वडा अध्यक्ष प्रमेश्वर यादवको घर पुगको थिए । त्यहाँ गएर प्रदेश सांसद र वडाअध्यक्षको विरोधमा नारावाजी गर्न लाग्दा दुवै भाइले हातपात गरी भगाएको आरोप उनीहरुले लगाएका छन् ।
वडा अध्यक्ष यादवले भने योग शिविर सञ्चालन भइरहेको बेला एक युवाको समूहले अनावश्यक नारा लगाएकाले शिविरमा आएका व्यक्तिहरुले कुटपिट गरेको दावी गरे ।
उनले भने, ‘बाढी सबैतिर आएको छ, कुरा के हो बसेर गरौं भन्दा उनीहरुले कुरै गर्न मानेनन्, हुलदंगा गर्न थालेपछि त्यही शिविरमा आएका व्यक्तिहरुले सामान्य कुटपिट गरको हुन् ।’ आफू र प्रदेशसभा सदस्य यादवले घटनामा संलग्नता नरहेको उनले बताए ।
कुटपिटबाट केही युवा अस्पताल पनि भर्ना भएका छन् । अस्पताल भर्ना भएकालाई वडा अध्यक्ष यादवले नाटकको संज्ञा दिए । उनले भने, उनीहरुलाई केही भएको छैन तर बदनाम गराउने उद्देश्यले अस्पताल भर्नाका भएका छन् ।’