Logo
२ माघ २०८१, बुधबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘डिजेल र पेट्रोलको गुणस्तर ठीक छ तर पम्पहरुलाई अझै व्यवस्थित गर्न जरुरी छ’

बुटवल : रुपन्देहीका अनुगमन गरिएका सबै पेट्रोल पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक गोविन्दप्रसाद ज्ञवालीले बताएका छन् ।

विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक ज्ञवालीले बताएका हुन् । उनले भने, “डिजेल र पेट्रोलको गुणस्तर ठीक छ तर पम्पहरुलाई अझै व्यवस्थित गर्न जरुरी छ”

आइतबार र सोमबार अनुगमनपछि मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराईले अनुगमन गरिएका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको नापतौल ठीक भएको जानकारी दिए ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वाणिज्य कार्यालय, नापतौल तथा गुणस्तर विभाग, आयल निगम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनका क्रममा रुपन्देहीका पेट्रोल पम्पमा गुणस्तर राम्रो भएको पाइएको हो ।

टोलीले रुपन्देहीको ओमसतीया गाउँपालिका-४ स्थित मोहित आयल फिलिङ सेन्टर र हरिकृष्ण आयल सप्लायर्स, सिद्धार्थ नगरपालिका–१ स्थित नवजीवन स्टोर्स, बुटवल रामनगरस्थित अशोका सप्लायर्स, श्री रिपुमर्दिनी पेट्रोल पम्प र बुटवलको नेपालगञ्ज रोडमा रहेको बुटवल डिजेल सेन्टरमा अनुगमन गरेको हो ।

नापतौल तथा गुणस्तर विभागका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति पाँच लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताए ।

अनुगमन गरिएका सबै पम्पमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक गोविन्दप्रसाद ज्ञवालीले बताए । “डिजेल र पेट्रोलको गुणस्तर ठीक छ तर पम्पहरुलाई अझै व्यवस्थित गर्न जरुरी छ”, उनले भने ।

पेट्रोल पम्पको गुणस्तर सही भए पनि अधिकांशमा सुरक्षा उपकरण भने नभएको पाइएको छ । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत झविलाल भट्टराईले जानकारी दिए ।

“अधिकांश पेट्रोल पम्पमा सुरक्षा उपकरण नभएको पाइयो”, उनले भने । अनुगमन गरिएका पेट्रोल पम्पमा शौचालयको व्यवस्था भए पनि व्यवस्थित नभएको पाइएको छ । अधिकृत भट्टराईले लैङ्गिक र अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिए ।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्