देखिएन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दीर्घकालीन विकल्प
काठमाडौं : पनि काठमाडौँ उपत्यकाको फोहर एक सातापछि सङ्कलन शुरु गरिए पनि व्यवस्थापनको दीर्घकालीन विकल्प देखिएको छैन ।
ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समयसमयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्का्तिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ‘ल्याण्डफिल साइट’ निर्माण सम्पन्न हुन तीन वर्ष लाग्ने भनिएको छ ।
अहिले उपत्यकाका सबै स्थानबाट कुहिने र नकुहिने फोहर एकै ठाउँमा राखेर सङ्कलन भइरहेको छ । फोहरको वर्गीकरण हुन नसक्नु नै फोहर व्यवस्थापनको मुख्य समस्याका रुपमा देखिएको महानगर वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
अझै पनि यहाँको फोहर वर्गीकरण नगर्ने हो भने सिसडोल, बञ्चरेडाँडा वा अरू कुनै फोहर विसर्जनस्थल छोटो समयका लागि मात्रै हुने उनको भनाइ थियो । उनले भने, ‘हामीले बञ्चरेडाँडामा फोहर केही वर्ष फाल्छौँ फेरि यही अवस्था आइहाल्छ ।’
वर्गीकरण गरेर नकुहिने र पुनः प्रयोग नहुने फोहर मात्रै ल्याण्डफिल साइटमा पठाउँदा मात्रै फोहर व्यवस्थापनको समस्या नहुने प्रमुख श्रेष्ठको भनाइ छ । महानगरवासीले कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै राख्नुपर्नेमा जोड दिँदै उनले थोरै भए पनि करेसाबारी भएकाले तरकारी र फलफूलका खेर गएका भागबाट आफूलाई चाहिने मल तयार गर्न सक्ने बताए ।
उपत्यकामा उत्पादन हुने फोहरको आधा फोहर कुहिने फोहर भएको बताउँदै उनले तीबाहेक पनि कागज, प्लास्टिकलगायत फोहर घरघरमै लिन आउनेलाई पठाउने र त्यसबाहेकको फोहर मात्रै फोहर सङ्कलन गर्ने गाडीमा पठाउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यसले गर्दा एकातिर फोहरको मात्रा ज्यादै कम हुन्छ भने अर्का्तिर कम्पोष्ट मलको उत्पादन हुन्छ ।’
भविष्यमा महानगर आफैँले प्राङ्गारिक मल उत्पादनको योजना बनाएको प्रमुख श्रेष्ठले बताए । सङ्कलित फोहर वर्गीकरण गरे कुहिनेबाट कम्पोष्ट मल बनाउने योजना बनाइएको छ । सडक छेउमा फोहर फाल्ने भाडा राखे पनि उपत्यकावासीको जथाभावी फोहर फाल्ने बानीमा सुधार नआएको उनले बताए । प्रमुख श्रेष्ठले भने, ‘यहाँका कर्मचारीले बिहानभर सफा गरेको सडक दिउँसोसम्म कागज र प्लास्टिकले भरिसक्छ ।’
काठमाडौँ मात्रै नभएर उपत्यकाका अधिकांश पालिकाले सिसडोलमा नै फोहर विसर्जन गर्दै आएका छन् ।
बञ्चरेडाँडामा निर्माण शुरु
शहरी विकास मन्त्रालयले नुवाकोटको बञ्चरेडाँडामा करीब रु ३८ करोडको लागतमा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण थालेको छ ।
सरकारले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको सो ल्याडफिल साइट सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको छ । हाल काठमाडौँ उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ ।
काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।