युरोपिएन, अफ्रिकन, भारतीय र चिनियाँ नागरिकको बाहुल्यता रहेको मरिसस र नेपालबीच श्रम समझदारी
नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भयो ।
समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले हस्ताक्षर गर्नुभयो ।
समझदारीमा दुवै मुलुक पारदर्शीता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनोट र परिचालनको सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
समझदारीसँगै कामदारको छनोट तथा भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने छ भने कामदारले कुनै पनि शुल्क तिर्नुपर्ने छैन् ।
समझदारीमा रोजगारदाताको कमीकमजोरीका कारण वा प्रतिष्ठान बन्द भई कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने प्रावधान राखिएको छ ।
नेपाली श्रमिकलाई मरिससका नागरिकको न्यूनतम ज्यालाभन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनुपर्ने तथा कुनै पनि कामदारलाई ज्याला, अतिरिक्त कामको अतिरिक्त भत्ता, कार्य वातावरण र न्यायमा पहुँचजस्ता विषयमा कुनै विभेद गर्न नपाइने समझदारीमा उल्लेख गरिएको छ ।
कामदारको आपूर्तिमा मरिससमा कुनै प्रकारका एजेन्सीको कल्पना गरिएको छैन । मरिससका रोजगारदाता कम्पनीले सिधै नेपालका म्यानपावर कम्पनीसमक्ष कामदार माग गर्नेछन् ।
समझदारीमा मरिससका रोजगारदाता र नेपालका रोजगार व्यवसायी बीचको प्रत्यक्ष समन्वयमा कामदारलाई पठाउने व्यवस्था गरिएको जेनेभाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
“महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरू सुनिश्चित गरिनुपर्ने विषयलाई समझदारीमा प्रष्टसँग किटान गरिएको छ”, उहाँले भन्नुभयो, “तलब सुविधा समयमै भुक्तानी गर्ने व्यवस्था सुनिश्चित गर्न मरिसस सरकारको तर्फबाट नियमित अनुगमन हुनुपर्ने र साथै विप्रेषणलाई बिनारोकतोक पठाउन पाउने व्यवस्था सुनिश्चित गरिएको छ ।”
कामदारकको मृत्यु भएको अवस्थामा शव छिटो नेपालमा ल्याउन वा परिवारको सहमतिमा मरिससमै दाहसंस्कार गर्दा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्ने समझदारीमा उल्लेख गरिएको छ ।
त्यसैगरी न्यायिक उपचारका लागि वकिल राख्ने र आवश्यक अनुवाद गर्न लाग्ने लागतसहित निःशुल्क कानूनी उपचारको हक स्थापित गरिएको छ । साथै विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा अस्थायी रोजगारीका लागि भिसा आवेदन गर्ने पाउने विषयलाई समझदारीमा समेटिएको छ ।
“समझदारीले कामदारको परिवार वा नजिकका नातेदारको मृत्यु भएमा वा यस्तै आकस्मिक अवस्था आइपरेमा विशेष बिदा लिन सक्ने व्यवस्था गरेको छ”- डा घिमिरेले भन्नुभयो, “मरिसको कानूनको अधीनमा रही कामदारको दुर्घटना बीमा एवं उपचार दुवैको व्यवस्था गरिएको छ ।”
समझादारीसँगै राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता भएको छ । “नेपाली कामदारले हरेक वर्षको सेवा अवधिका लागि एक महिना बराबरको उपदान व्यवस्थालाई समझदारीमार्फत दरिलो बनाइएको छ”, उहाँले भन्नुभयो, “कार्यअवधि समाप्त गरी नेपाल फर्किदा रोजगारीको प्रमाण पत्र दिने व्यवस्थासमेमत गरिएको छ ।”
समझदारीले नेपाली कामदार मसिसको विमानस्थल पुगेको छ घण्टाभित्रै रोजगारदाता वा निजको प्रतिनिधिले स्वागत गरी कार्यस्थलमा लिएर जानुपर्ने व्यवस्था गरेको छ । समझदारीको केही प्रावधानले मरिससको रोजगारदातालाई नेपाली कामदारप्रति जवाफदेही बनाउने विश्वास गरिएको छ ।
समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने ‘आइटमगत’ लागत निर्धारण गर्नेलगायतका विषय दुई देशका प्रतिनिधि संलग्न संयुक्त बैठकबाट तय गरिने समझदारीमा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन र मानव तस्करी रोक्ने विषयलाई पनि समझदारीले प्रष्ट पारेको छ । दुवै देश कामदारालाई नाजायज तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवं नियन्त्रण गर्न प्रतिबद्ध तथा सबै प्रकारको अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखनजस्ता जघन्य अपराध नियन्त्रण गर्न दुवै देश सहमत भएका सहसचिव डा घिमिरेले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका गन्तव्यस्थलको विविधीकरण गर्ने सरकारको नीतिअनुरूप मरिससँग श्रम समझदारी गरिएको उहाँको भनाइ छ ।मरिससमा होटल, अतिथि सत्कार र उत्पादनमूकल क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली कामदारले रोजगारीको अवसर पाउने सम्भावना रहेको छ ।
कुल क्षेत्रफल एक हजार ८६० वर्ग किलोमिटर रहेको मरिसस माडागास्करबाट ८९० किलोमिटर पूर्वमा अवस्थित छ । मरिससको औसत तापक्रम १३ देखि २५ डिग्री सेन्टिग्रेटसम्म रहेको छ ।
मरिससमा युरोपिएन, अफ्रिकन, भारतीय र चिनियाँ नागरिकको बाहुल्यता छ । सन् २०१७ को तथ्याङ्क अनुसार मरिससको जनसङ्ख्या १२ लाख ६० हजार छ ।
मरिससमा विभिन्न धार्मिक उत्सव मनाउने गरेको पाइन्छ । भारतीय मुलका नागरिकको बाहुल्यता भएकाले मरिससमा झन्डै नेपाली साँस्कृतिक परम्परा मेल खाने देखिन्छ । चिनियाँ तथा युरोपेली मुलका नागरिकले पनि आआफ्ना कला सँस्कृति देखाउने गरेका छन् ।
मुख्य भाषाका रूपमा अङ्ग्रेजी रहे पनि मरिससमा हिन्दी, मैथली, भोजपुरी, चिनियाँ भाषा पनि बोलिन्छ । मरिससमा ४८ प्रतिशत हिन्दू, ३२ प्रतिशत इसाई धर्मावलम्बीको बसोबास रहेको छ । मरिससको साक्षरता प्रतिशत ८५–९० रहेको छ ।
मरिससको मुख्य स्रोतका रूपमा कृषि रहेको छ । कृषिजन्य उत्पादनमा उखु, चिया, सूर्ति, तरकारी, फलफूल, पुष्प तथा माछा रहेको छ । कपडा, घडी, गरगहना, चश्मा, खेलौना तथा खेलकूदका सामग्रीलगायत निर्यातजन्य उद्योग सञ्चालनमा रहेका छन् ।
मुख्यरूपमा मरिससबाट कपडाजन्य उत्पादन, चिनीलगायत उत्पादन निर्यात हुने गरेको छ भने औद्योगिक वस्तु, खाद्य पदार्थ, पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ ।
मरिससमा मनाइने मुख्य चाडपर्वका रूपमा दिवाली, इदुल फित्र, गणेश चतुर्थी, होली, महाशिवरात्रि रहेका छन् । ती पर्वका अवसरमा मरिसस सरकारले सार्वजनिक बिदा दिने गरेको छ । नेपालमा खाइने दाल, भात, अचार पनि मसिससमा खाइने मुख्य खानाका रूपमा रहेको छ ।