ठूला नदीबाटभन्दा ससाना खोलानालाबाट बाढीको खतरा
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आजको बाढी अलर्ट जारी गर्दै आज र भोलि देशको मध्य तथा पूर्वी क्षेत्र र पर्सि पश्चिमी क्षेत्रमा वर्षा भइराख्दा ससाना खोलानालामा आकस्मिक वहावको सम्भावना रहेको जनाएको छ ।
तर, प्रमुख तथा मझौला नदीहरु कन्काई,कोशी, कमला, बागमति, नारायणी, पश्चिम राप्ति,बबई, कर्णाली र महाकालीमा भने आगामी ३ दिन कुनै बढी जोखिम नहुने सो विभागले जनाएको छ ।
यसअघि सोमबार जल तथा मौसम विज्ञान विभागले बाढीको अलर्ट जारी गर्दै पूर्वी नेपालका विभिन्न नदीहरुमा जल सतह बढ्ने पूर्वानुमान गरेको थियो । देशको पूर्वी भूभागमा पर्ने कन्काई तथा कोशी नदी जलाधार क्षेत्रमा वर्षा भइ जलसतह उल्लेख्य बढ्ने छ । उच्च बाढीको जोखिम भने नरहेको सो बुलेटिनमा जनाइएको छ ।
त्यसैगरी कमला, नारायणी, पश्चिम राप्ति, बबई कर्णाली र महाकाली लगायतका यसका शाखा नदीहरुमा भने वहाव सामान्य रहने जनाइएको छ । पूर्वी मेची, विरिङ्गलगायतमा पानीको सतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै हुने जनाइएको छ । त्यस्तै पूर्वका कन्काई, मेची र बिरिङ्गका अतिरिक्त पूर्वी भागबाट बहने साना नदीहरुमा जलसतह उल्लेख्य बढ्ने समेत पूर्वानुमान गरिएको छ ।