पार्टी झण्डा हटाउने विषयमा हिंस्रक झडप, ४ जनाको मृत्यु
भारत : पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको नाजट इलाकामा शनिवार राती तृणमूल कँग्रेस र भाजपा कार्यकर्ताबीच झडप भयो । झडपमा कम्तिमा ४ मानिस मारिएका छन् । त्यस्तै ३ जना गम्भीर घाइते भएका छन् ।
पार्टीसम्बद्ध सूत्रले यस्तो दावी गरे पनि प्रहरीले यी मृत्युबारेमा कुनै पनि प्रतिक्रिया दिएको छैन । तर स्थितिमाथि नियन्त्रण गर्नको लागि प्रहरी बल पठाइएको उसले बताएको छ । दुई दलसँग सम्बद्ध सुत्रले बताएअनुसार झडप उक्त क्षेत्रबाट पार्टी झण्डा हटाउने विषयमा विवाद भएपछि भएको थियो ।
भाजपाका प्रदेश इकाईका महासचिव सयान्तन बोसले बताएअनुसार उनको पार्टीका ३ कार्यकर्ता- सुकान्त मण्डल, प्रदीप मण्डल र शंकर मण्डलले त्रिमुल कँग्रेसका समर्थकले पार्टीको झण्डा फाल्न खोज्दा रोकेको र त्यही कारण गोली हानिएको बताए ।
बोसले भने, ‘हामीकहाँ प्राप्त भएको जानकारीअनुसार थप २ मानिस मारिएका छन् तर हामीलाई तिनको शव प्राप्त भएको छैन । उनले हाम्रो पार्टीको झण्डा फ्याक्न कोशिश गरे र त्यसको प्रतिरोध गर्ने प्रयास गरेका हाम्रो कार्यकर्तालाई गोली हानियो । ’
भाजपाका वरिष्ठ नेता मुकुल रोयले पार्टीले केन्द्रीय गृहमन्त्री अमित शाहलाई घटनाको जानकारी दिने बताए । राज्यमा त्रिमुल कँग्रेसको सरकार रहेकाले उसबाट न्याय नपाउने भन्दै उनले केन्द्र सरकारलाई आह्वान गर्ने बताए ।
उता, त्रिमुल कँग्रेसले उसको पनि १ जना कार्यकर्ता मरेको बताएको छ । त्रिमुल पार्टीका जिल्ला अध्यक्ष तथा राज्यका मन्त्री मुलिकले बताएअनुसार भाजपा कार्यकर्ताले उनको पार्टी समर्थक कयूम मुल्ला हत्या गरिदिए ।
घटना भएको इलाका बशीरहट लोकसभा क्षेत्र अन्तर्गत पर्छ । यो सीट त त्रिमुल कँग्रेसले जितेको थियो । तर घटना घटेको गाउँमा भने भाजपाले त्रिमुल कँग्रेसले भन्दा बढी मत प्राप्त गरेको थियो ।