Logo
२० कार्तिक २०८१, मंगलबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यार्सागुम्बा सङ्कलक ८ जनाको मृत्यु, अधिकांशको लेक लागेर ज्यान गएको पुष्टि

डोल्पा :  धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका ८ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका-६ का १७ वर्षीय गोपाल विष्टको शे-फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ । यस्तै जुम्ला गोठीचौर गाउँपालिका-४ का ४४ वर्षीय जयकृष्ण पाण्डे यही जेठ १० मा कागमारास्थित लेकमा भीरबाट लडेर मृत्यु भएको थियो ।

डोल्पा ठूलीभेरी नगरपालिका-११ की ३८ वर्षीया बुद्धीकुमारी कार्कीको यही जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर निधन भएको थियो । त्यस्तै शे-फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका-६ का २२ वर्षीय रमेश चलाउनेको यही जेठ १७ गते लेक लागेर मृत्यु भएको थियो भने जाजरकोटकै बारेकोट गाउँपालिका-१ का १८ वर्षीय कृष्ण विकको यही जेठ १८ गते लेक लागेर मृत्यु भएको थियो ।

त्यस्तै रुकुमपश्चिम आठबिसकोट नगरपालिका-९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा यही जेठ २० गते लेक लागेर मृत्यु भएको थियो । जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका-५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भएको थियो । यस्तै यही जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के-कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो । यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर ९ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।

आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्