Logo
५ माघ २०८१, शनिबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र मोदीबीच २० मिनेटका लागि अहिले भेटघाट हुँदै, ओली आजै स्वेदेश फर्किने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता हुँदैछ । प्रधानमन्त्री ओली र मोदीको भेटघाटको समय अहिले बिहान स्थानीय समय अनुसार ११ः३० बजे (नेपाली समय पौने १२ बजे) को लागि तोकिएको छ ।

बिहीबार साँझ भारतको राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र वा सरकार प्रमुख, किर्गिस्तानका राष्ट्रपति र मौरिससका प्रधानमन्त्री समेतका विदेशी अतिथी सामेल थिए ।

सबै प्रतिनिधिमण्डलसँग विहीबारको शपथग्रहण सकिएपछि भारतका राष्ट्रपति सहितको सामूहिक तस्विर खिचाउने काम भएको थियो । प्रधानमन्त्री ओली राष्ट्रपति निवासमै आयोजित रात्रिभोजमा सामेल भएका थिए ।

बिहीबारको शपथग्रहण समारोहमा प्रधानमन्त्री मोदी, मन्त्री र राज्यमन्त्रीसहित ५८ जनाले शपथ लिएका थिए । उनीहरुको कार्यविभागन भने गरिएको छैन ।

बिहीबार राति ९ बजे भारतका राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजलगत्तै भारतका प्रधानमन्त्री मोदीले सवा १० बजे किर्गिस्तानका राष्ट्रपति सुरुनबे जीनवेकोभसँग दुई पक्षीय भेट वार्ता गरेका थिए ।

मोदी आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अन्तर्गत संघाइ कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा भाग लिन दुई साताभित्रै किर्गिस्तान जाँदैछन् । सो संगठनको सम्मेलन जुन १३ र १४मा हुँदैछ ।

आज नेपालका प्रधानमन्त्रीसँगको दुई पक्षीय वार्ता गर्नुअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुरुमा १०ः३० बजे बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, १०ः५० बजे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, ११ः१० बजे मौरिससका प्रधानमन्त्री प्रभिन्दकुमार जुग्नाउथले भेट गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीसँग ११ः३० बजे भेटघाट हुँदैछ भने नेपालका प्रधानमन्त्रीसँगको भेटघाटपछि मोदीले ११ः५० बजे भुटानका प्रधानमन्त्री लोटे छिरिङसँग भेट गर्नेछन् ।

सबैसँगको भेटघाटको समयसीमा भारतको विदेशमन्त्रालयले २० मिनेटका दरले कायम गरेको पाइएको छ । प्रधानमन्त्री ओली आज अपरान्ह स्वेदेश फर्किनेछन् ।

(माथीको संयूक्त तस्बिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणपछि बिहीबार राति भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री मोदीसँग तस्बिर खिचाउँदै कार्यक्रममा भाग लिन आएका बिमस्टेक राष्ट्रका राष्ट्र वा सरकार प्रमुख, किर्गिस्तानका राष्ट्रपति र मौरिससका प्रधानमन्त्री । तस्बिर : भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमार ।)

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्