Logo
१७ कार्तिक २०८१, शनिबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा स्थानीय प्रशासनले रोक्यो मुसहरको जनसभा

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका-३ बासवारीमा रहेको जनप्रिय माध्यमिक विद्यालयमा शनिवार मुसहर समुदायले आयोजना गर्ने तयारी भएको जनसभा स्थानीय प्रशासनले रोकिदिएको छ ।

आयोजक नेपाल नेपाल राष्ट्रिय मुसहर संघ जिल्ला समिति मोरङले सम्पूर्ण तयारी पूरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षाका लागि निवेदन लिएर पुगेका थिए ।  तर, प्रशासनले अन्य कुनै स्थानमा कार्यक्रम गर्न आग्रह गर्दै बासवारीका लागि तय भएको कार्यक्रममा रोकेको हो ।

प्रशासनले बासवारीमा कार्यक्रम रोकेपछि जेठ १३ गतेका लागि विराटनगर हाटखोलाको खाली मैदानमा जनसभा आयोजना गर्ने तयारी भएको संघका अध्यक्ष जितेन्द्र ऋषिदेवले जानकारी दिए । ‘कार्यक्रमको सबै तयारी पूरा गरेका थियौं,’ उनले भने, ‘अन्तिम समयमा सीडीओ कार्यालयले सुरक्षा दिन नसक्ने बताएपछि जेठ १३ गतेलाई सार्‍र्यौ ।’

शनिवारको कार्यक्रमका लागि स्टेज बनाउनेदेखि अन्य तयारी भएको बताउँदै उनले प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि सारिएको जानकारी दिए । कार्यक्रममा रेणु यादवले सम्बोधन गर्ने तयारी भएको थियो ।

यता मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले विवादित स्थान बासवारीमा नभइ अन्य कुनै स्थानमा कार्यक्रम गर्न भनिएको बताए । बुढीगंगामा ऋषिदेव र थापामगर समुदायका छोराछोरीले भागी विवाह गरेपछि केही दिनअघि तनाब भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बासबारीमा कार्यक्रम गर्दा पहिले पनि विवाद भएकाले विवाद नहुने स्थानमा कार्यक्रम गर्न आग्रह गरिएको बताए ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्