Logo
१५ माघ २०८१, मंगलबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पार्टीभित्र गुट-उपगुट अन्त्य नभएसम्म कांग्रेस बलियो हुन सक्दैन’ : सभापति

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताए । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ-आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताए ।

पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको होु, उनले भने । मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल कांग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो । आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छु, सभापति देउवाले भने ।

अन्तरघात मुक्त कांग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा उनले जोड दिए । सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै कांग्रेसभित्र सशत्त एकताको खाँचो रहेको बताए । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारका गतिविधि जनताको हितविपरित भएको भन्दै सरकारविरुद्ध संघर्षमा जानुपर्ने बेला आएको बताए । पार्टीका पूर्व महामन्त्री सिटौलाले पार्टी आन्तरिक प्रतिस्पर्धाभन्दा कलहमा फस्दा समस्या उत्पन्न भएको बताउँदै पार्टीभिक्र सैद्धान्तिक, नीति, कार्यत्रममा आधारित एकता आवश्यक भएको धारणा व्यक्त गरे ।

नेता सिटौलाले प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस सधैँ दृढ रहेको पनि स्पष्ट पारे । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले लोकतन्त्रको आवरणमा निरङ्कुशको बाटोमा अगाडि बढ्न खोजेको बताए । मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय सुरक्षा परिषद् विधेयकले सरकारले सत्ता कब्जा गर्ने खेल गरेको आरोप लगाउँदै उनले पार्टीभित्रको जागरण अभियानका लागि स्वजागरण अभियान आवश्यक रहेको बताए । कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले कांग्रेसले लिएको प्रजातन्त्र, राष्ट्रियता र समाजवादको बारेमा देशभर प्रजातान्त्रिक विचार समाजले बहस चलाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले पार्टीभित्रको मतभेदले कांग्रेसलाई फाइदा पुग्दैन, प्रजातान्त्रिक विचार समाज सबै नेता तथा कार्यकर्तालाई समेटेर अगाडि बढ्न चाहन्छ भन्दै समाजले आगामी दिनमा सबै जिल्लामा शाखा विस्तार गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले विभाग र भ्रातृ संस्थालाई खाली गरेर जागरण अभियानमा जानु सान्दर्भिक कुरा नभएको बताए ।

समाजका पूर्वअध्यक्ष प्रा डा चन्द्रलाल श्रेष्ठ, नेपाल बार एशोसिएशनका महासचिव लक्ष्मण पौडेल, पूर्वसांसद सकलदेव सुतियार, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने प्रयास गरिरहेको बताउँदै सरकारको गतिविधिविरुद्ध लोकतन्त्रवादी एकजुट हुनुपर्ने बेला आएको विचार व्यक्त गरे । कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मानबाट पत्रकार एवं राजनीतिज्ञ नुतन थपलियालाई २५ हजार नगद र ताम्रापत्रद्वारा सम्मान गरिएको थियो ।

विसं २०५२ मा स्थापना भएको समाजले ४७ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको समाजका महासचिव गोकर्ण अर्यालले जानकारी दिए । दुई दिनसम्म चल्ने महाधिवेशनमा ४१ जिल्लाका ३०० प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्