महरा जस्तो डरपोक र काँतर सभामुख मैले इतिहासमै देखेकै छैन : शेरबहादुर देउवा
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख कृष्ण बहादुर महरा इतिहासकै डरपोक र काँतर सभामुख भएको आरोप लगाएका छन्।
देशभर एकसाथ ‘हिमाल, पहाड,तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को बुधबार उद्घाटन गर्दै उनले भने, ‘नेपाली राजनीतिको इतिहासमा मैले यति डरपोक र काँतर सभामुख देखेकै छैन। हामीले गैर संसदीय अभ्यास भयो भन्दा उनी सरकारकै पक्षमा लागिरहे।’
मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजी र अवरोधका बीच पनि सभामुख महराले संसद चलाएर नीति तथा कायक्रम पारित गरेपछि देउवा उनीविरुद्ध खनिएका हुन् ।
सभापति देउवाले संसद जहिले पनि प्रतिपक्षी दलको भएको र सत्ता जहिले सरकारको हुँदै गरेकोमा यसपटक भने ठीक उल्टो भएको दाबी गरे। उनले भने, ‘संसदीय परम्परामा संसद भनेको प्रतिपक्षी र सत्ता भनेको सरकारको हुन्छ तर, यहाँ त उल्टो बाटो रोज्नुभो सभामुखले आफैँ डरले।’
उनले सरकारको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको महारानीभन्दा पनि बढ्ता भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको आरोप लगाए।
उनले भने, ‘पहिला राजाको पालामा हिज म्याजेस्टी गभर्मेन्ट भनेजस्तै अहिले राष्ट्रपति भण्डारीले हिज म्याजेस्टी विद्यादेवीज गभर्मेन्ट भनिरहेकी छिन्।’
कम्युनिष्टहरुले शासन सत्तामा आएपछि अधिनायकवाद लाद्छ भनेको जस्तै अहिलेको नेकपाको सरकारले हाकाहाकी त्यही लक्षण देखाइरहेको उनको भनाइ छ।
अधिकांश समय सरकारको नीति तथा कार्यक्रममा खर्चिएका सभापति देउवाले भने, ‘अब कम्युनिष्ट सरकारले हस्तक्षेप गर्नुपर्ने लक्षण देखाउन थालिसके।’