नीति तथा कार्यक्रमप्रति महतोको आपत्ती : ‘भाङ खाएर लेख्या हो र ?’
काठमाडौं : राष्ट्रिय जनता पार्टीले संविधानमा विमति नरहेको भन्ने सरकारको भनाइप्रति गम्भीर आपत्ती जनाउँदै ‘भाङ’ खाएर नीति तथा कार्यक्रम लेखेको हो भनी प्रश्न गर्नुभएको छ ।
आइतबार देखि सुरु भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै राजपा अध्यक्ष तथा सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रममा ‘अब संविधान प्रति बिमति नरहेको’ भनी लेखिएकोमा गम्भीर आपत्ती र असहमति जनाउनुभएको हो ।
संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको भन्ने नीति तथा कार्यक्रममा उल्लेखित ७ नम्बर बुँदाप्रति उहाँले गम्भीर आपत्ती जनाउनुभयो ।
उहाँले भन्नुभयो ‘कसरी विमति छैन हो ? यो कहिले देखि विमति भएन ? कसरी लेख्यो यो नीति कार्यक्रम ? आधा निन्द्रामा लेख्या हो कि कसो हो ? प्रधानमन्त्री जी हुनुहुन्न ।
यो संविधानमा विमति छैन रे ? भो अब ? अहिले नि हाम्रो पार्टीको माननिय लक्षमण लालकर्णजी ले भन्नु भएको होइन । पचासौँ पटक यो हाउसमा हामीले नै विमति देखाएको ।
उहाँ प्रचण्डजी बस्नुभएको छ सभामुख महोदय, त्यो संविधानमा नोट अफ डिसेन्ट लेखेर विमति जनाउने उहाँ सरकारी पक्ष नै हो फेरी नीति कार्यक्रममा कसरी विमति छैन भनेर लेख्दिनुभो ?’
संविधानप्रति व्यापक असन्तुष्टी रहेको र विमति रहेको स्पष्ट हुँदा हुदै संविधानप्रति अब विमति छैन भनि लेखिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।
यसबाट संविधान नै संसोधन नगर्ने मनस्थितिमा सरकार छ भन्ने सन्देश दिएको भन्दै उहाँले त्यसलाई आफुहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो ।
उहाँले ‘भाङ खाएर नीति तथा कार्यक्रम लेख्या हो र ?’ भनी प्रश्न गर्नुभयो । उहाँले संविधानलाई सर्वस्वीकार्य रहेको भन्दै सरकारले संशोधनलाई अस्वीकार गर्न नसक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘जब जब बाईबल, कुरान, गीता,महाभारत संविधानलाई बनाईन्छ नि तब त्यो संविधान गईजान्छ । बाई बाई भईजान्छ ।’ उहाँले सरकारले जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो ‘नीति तथा कार्यक्रम झुटको खेती जस्तै छ । सफेद झुट भन्छ नि सफेद झुट । जनताको अधिकार माथि दिन दहाडै डकैती । जनतालाई ढांट्ने । जनतालाई गुमराह गर्ने ।’ उहाँले शाही सम्बोधनको शैलीमा सरकारको नीति तथा कार्यक्रम आएको टिप्पणी गर्नुभयो ।