एमाले पुर्व सभासद रामचन्द्र प्यासी कुशवाहालाई झटका : १० वर्षे सजाय आजीवन कारावासमा परिणत
बारा, परवानीपुर निवासी मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष महमुद आलम हत्याकाण्डमा संलग्न रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगंज इजलासले आजीवन कारावासको सजाय सुनाएको छ ।
बारा जिल्ला अदालतले २०७३ बैशाख ५ मा गरेको फैसलाविरुद्ध प्यासीसमेतले उच्च अदालत वीरगंज इजलासमा रिट दायर गरेका थिए । रिटमा आज मुख्य न्यायाधीश डिल्लीराज आचार्य र चन्द्रबहादुर सारूको इजलासले बारा जिल्ला अदालतले यस अघि कुशवाहाको हकमा गरेको १० वर्षको सजायमा थप गरेर आजीवन कारावासको फैसला सुनाएको हो ।
उच्च अदालत वीरगंज इजलासले सोही हत्याकाण्डमा संलग्न महम्मद सहब भन्ने विपिन यादव, अतीक खान भन्ने अशोक श्रीवास्तव, वर्मा भन्ने राजु श्रीवास्तवको हकमा बारा जिल्ला अदालतले गरेको १० वर्ष कैद सजायलाई सदर गरेको छ ।
यसैगरी हत्याकाण्डमा मोटरसाइकल चालक भनिएका मनोज रवि पाण्डे भन्ने राजेश मिश्रलाई १५ वर्ष कैद सजाय गरिएको छ । बारा जिल्ला अदालतले मिश्रलाई आजीवन कैद सजाय सुनाएको थियो ।
महमुद आलमको हत्या २०७० असोज १८ गते भएको थियो । आलम तत्कालिन एमाले नेता थिए भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा क्षेत्र नं. ३ बाट उम्मेदवार थिए ।
उनको हत्यामा संलग्न भनिएका प्यासी भने एमालेबाटै पहिलो संविधानसभामा समानुपातिक सांसद थिए ।