काठमाडौंमा तत्काल यी दुई स्थानमा बन्ने भयो आकाशे पुल
काठमाडौं : काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ ।
महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन । विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताइए पनि तत्काल भने दुई स्थानमा निर्माण गर्न लागिएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । महानगरले तत्काल चाबहिल र पुरातत्व विभाग अगाडि पुल निर्माण गर्न लागेको डङ्गोलले जानकारी दिए ।
महानगरले चालु आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट विनियोजन गरेको थियो । भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । नयाँ ती पुल निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ ।
महानगरभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क, बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । सञ्चालनमा रहेका केही पुललाई पुनःनिर्माण गर्नुपर्ने अवस्था छ । वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण भएकाले तत्काल मर्मतको आवश्यकता रहेको छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने देखिएको छ ।
पुल निर्माण गर्ने आठ स्थानमा टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशालाचोक रहेका छन् । सवारीसाधनको अत्यधिक चाप हुने तीे क्षेत्रमा त्यस्ता पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या हुँदैआएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ ।
दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा महानगरले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।