चोभारमा सुख्खा बन्दरगाह बन्न नदिने स्थानीयको अडान
काठमाडौं : चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न प्रमाण र कागजात सहित आफ्नो औपचारिक निवेदन दर्ता गराएका छन् ।
नेपाल इण्टरमोडल यातायात विकास समितिले सार्वजनिक सूचना प्रकाशित गरी प्रमाण सहित गुनासो पेश गर्न आह्वान गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले उक्त निवेदन पेश गराएका हुन् ।
सूचना अनुसार समग्र चोभारका विषयमा सरोकार राख्ने चोभार संरक्षण समितिले आइतबार औपचारिक रुपमा आफ्नो गुनासो सहितको निवेदन दर्ता गराएका थियो ।
गत फाुगन ९ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचनाका आधारमा विभिन्न तथ्य र प्रमाणका साथ तोकिएको म्याद भित्र नै आफ्नो गुनासो सहितको माग पत्र पेश गरिएको चोभार संरक्षण समितिका संयोजक पंचलाल महर्जनले जानकारी दिए ।
नेपाल इन्टरमोडल यातायात विकास समितिको साइट अफिसमा बुझाइएको निवेदनमा चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न नहुने र हिमाल सिमेन्ट उद्योगले अधिग्रहण गरेको जग्गा फिर्ता दिनुपर्ने दाबी प्रस्तुत गरिएको छ ।