आकष्मिक र आइसीयूबाहेकको सेवा ठप्प गर्दै नर्सहरु आन्दोलनमा
नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।
सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको मूल्याङ्कन र अनुभवका आधारमा गे्रडिङ दिनुपर्ने, कर्मचारीलाई स्थायी गुर्नपर्ने, तलबमा पाइने सबै सेवासुविधा उपल्बध गराउनुपर्नेजस्ता छ बुँदे माग राखी केही दिनयता कालोपट्टी बाँधेर काम गर्दै आएका नर्स बुधबार साँझदेखि सेवा बहिष्कार गरी धर्नामा बसेपछि केन्द्रको सेवा प्रभावित भएको हो ।
केन्द्रका नर्सले आकष्मिक र आइसीयूबाहेकको सेवा ठप्प गरेका छन् । प्रशासनसमक्ष पटक-पटक गे्रडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको नर्सिङ सङ्घ एकाइ भक्तपुरका अध्यक्ष मीना खर्बुजाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहे पनि कुनै सुनुवाइ नभएपछि सेवा बहिष्कारको आन्दोलन शुरु गरेका हौँ । हाम्रा मागलाई हुन्छ-हुन्छ भनियो तर, सात-आठ महीनासम्म झुलाउने मात्र काम भयो । त्यसैले हामीले आन्दोलनको विकल्प देखेनौँ र यो कदम चाल्नुप¥यो ।”
केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले लोकसेवा आयोगबाट स्थायी पदपूर्तिको प्रक्रिया अघि बढेको बेला आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभयो । उहाँले पटक-पटकको प्रयासबाट हालै केन्द्रको दरबन्दी स्वीकृत भएर आएको जानकारी दिँदै स्थायी पदपूर्तिका लागि लोकसेवालाई आग्रह गर्ने काम भइसकेको र अब एक/दुई दिनमा विज्ञापन खुल्ने हुँदा आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न प्रयासबाट अस्पतालका नर्सको स्थायी प्रक्रिया पूरा गर्दैछौँ, जसका लागि केही दिनमा लोकसेवाबाट प्रक्रिया अगाडि बढ्छ होला, यस्तो बेला आन्दोलन गर्नुपर्ने कुनै कारण छैन ।
यस्तै निर्देशक डा श्रेष्ठले अस्पतालको तर्फबाट आफ्ना कर्मचारीलाई दिने अन्य सेवासुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको समेत बताउनुभयो । आन्दोलनका कारण बिरामीले पाउने सेवा प्रभावित भइरहेको छ । हाल अस्पतालमा दैनिक १०० भन्दा बढीको मिर्गौला डायलासिस तथा हप्ताको सात मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।
उहाँले आफ्ना कर्मचारीको सुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको बखतमा बिरामीको उपचार नै प्रभावित हुने गरी आन्दोलन गर्नु दुःखद् रहेको बताउनुभयो । नर्सिङ कर्मचारीले सेवा छाडेर आन्दोलन गरे पनि आइसियू, आकष्मिक, ओटी तथा प्रत्यारोपण सेवा भने प्रभावित नभएको निर्देशक डा श्रेष्ठले बताउनुभयो । करीब छ वर्षअघि स्थापित केन्द्रले प्रत्यारोपणको क्षेत्रमा बेग्लै पहिचान बनाएको छ भने केन्द्रमा हाल ९६ नर्स कार्यरत छन् ।
यता, लोकसेवा आयोगले केन्द्रका लागि भन्दै ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित विभिन्न १७० पदमा स्थायी पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ ।
हेर्नुस् विज्ञापन :