विप्लव समूहसँग वार्ता प्रक्रिया हुँदै, गैरकानूनी काम नियन्त्रण गर्न सरकार सफल
हेटौँडा : गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताएका छन् ।
गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा उनले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे । संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताए ।
गृहमन्त्री थापाले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टाचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हुँदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताए ।
उनले नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताए । गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।
दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ । गृहसचिव पे्रमकुमार राईको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, सङ्घीयता, संविधान विरोधी र सुशासन कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताइएको छ ।