Logo
२८ पुस २०८१, आईतबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु

भक्तपुर : भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुँदैछ ।  नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने गदर्छ ।

आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । रथ तान्नुअघि रथमा खड्ग, तरबार, निशान राख्ने गर्दछ ।

रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । जात्राको मुख्य आकर्षण नै यही रथ तानातान गर्नु हो । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

पहिलो दिनमा भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो र दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्केटको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरु नीलो कपडाले बेरिएको हुन्छ ।

लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।

बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ र लिङ्गो उठ्नासाथ वंशगोलमामा बाराही देवी खौमामा इन्द्रायणी देवीको तिंप्वाः जात्रा गरिन्छ ।

बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषमा द्यः ल्वाकिगु जात्रा भनिन्छ । साँझपख दुमाजु देवीको जात्रा समेत गरिन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाबाट तानातान गरिन्छ ।

यसरी रथ तानातान गर्ने क्रममा दुई पक्षबीच झडप हुने गरेको छ । बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्तै ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाले यसवर्ष जात्रालाई शान्तिपूर्ण बनाउन ४३ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गर्ने व्यवस्था मिलाएका छन् ।

जात्रामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पोशाक र सादा पोशाकमा सुरक्षाकर्मी खटिएका प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

मदिरा बिक्री वितरणमा रोक लगाएको र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने समेत प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्