महाधिवेशनबारे निर्णय लिन नसक्दा राजपा नेपालको बैठक अन्योलमा
काठमाडौं : महाधिवेशनबारे निर्णय लिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको बैठक पार्टी कार्यालय बबरमहलमा जारी रहेको छ । राजपाले बैशाख ७, ८ र ९ गतेका लागि महाधिवेशनको मिति तय गरेको भएपनि कुनै तयारी देखिँदैन । यस्तो अवस्थामा महाधिवेशनको मिति सार्ने कि अरु कुनै मोडेलबाट महाधिवेशन सम्पन्न गर्ने भन्ने विषयमा छलफल भइरहेको राजपाले जनाएको छ।
बैठकमा पार्टीको कार्यसमिति तथा जिल्लाको अध्यक्षमण्डललाई महाधिवेशन प्रतिनिधि मानेर महाधिवेशन गराउने विषयमा पनि विचार विमर्श भइरहेको छ तर अधिकाँश नेताहरुले त्यसको विपक्षमा देखिएका छन् । महाधिवेशनको मिति सार्नुपरे पनि त्यसको विषयमा राजनीतिक समितिको बैठक बोलाएर छलफल गर्न पनि नेताहरुले माग गरेका छन् ।
हालसम्म अधिकांश निर्णय अध्यक्षमण्डलको बैठकबाट नै गर्ने गरेकाले पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण, उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल चैत ४ गते अध्यक्षमण्डलाई भेटेर राजनीतिक समितिको बैठक माग गरेका थिए । आजको बैठकमा त्यस विषयमा पनि छलफल हुने बताइएको छ ।
साथै, नागरिकता, रेशम चौधरी, सविधान संशोधनलगायतका विषयमा पनि पार्टीले छलफल गर्ने बताइएको छ । गृहमन्त्रालयले जन्मका अधारमा वंशजको आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यलयलाई सर्कुलर गरेको थियो । त्यसलाई सवोच्च अदालतले रोक्न आदेश दिएको छ ।
यस्तै बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकीकरण गर्ने विषयमा पनि छलफल हुने महासचिव केशव झाले बताए ।
संघीय समाजवादी फोरम, नेपालले पार्टी एकीकरण गर्न तयार रहेको पत्र पठाएपछि त्यसको जवाफ दिने विषयमा पनि बैठकमा छलफल हुने एजेन्डा तय गरिएको राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।