Logo
११ माघ २०८१, शुक्रबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री कार्यालयसहित २ महत्वपूर्ण मन्त्रालयमा ४ सचिव पद रिक्त

काठमाण्डौं : प्रधानमन्त्री कार्यलयसहित २ वटा महत्त्वपूर्ण मन्त्रालयमा चार सचिव पद रिक्त भएको लामो समय बितेपनि सरकारले सचिव नियुक्ति गर्न सकेको छैन । रिक्त सचिव पदपुर्ति गर्न ढिलाई गर्दा ती मन्त्रालयको कामकाज प्रभावित बनेको छ । हाल प्रधानमन्त्री कार्यालयमा दुई, महिला बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालय एक र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक गरी चार सचिव पद रिक्त छन् ।

यति सम्मकी कर्मचारी समायोजनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै सचिव पद रिक्त भएको १५ दिन भएको छ । महिला मन्त्रालय करिव एक महिनादेखि सचिवविहीन छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सचिव दिनेश थपलियालाई सरकारले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेपछि गत चैत ११ गते राजिनामा दिएका थिए ।

थपलियाको राजिनामापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवविहीन बनेको हो । उता महिला मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का ५८ बर्षे सेवाअधि पुरा गरेर निवृत भएपछि उक्त मन्त्रालय पनि सचिवबिहिन छ ।

यसैवीच लोकसेवा आयोगका अध्यक्ष संयोजक रहेको सचिव बढुवा सिफारिस समितिले गत चैत दोस्रो साता तीन जना सहसचिवलाई सचिवमा बढुवाका लागि सिफारिस गरेपनि सरकारले निर्णय गर्न नसकेको बताइएको छ । समितिले सहसचिव हरि बस्याल, हरि पौडेल र शुरेष अधिकारीलाई सचिवमा बढुवाका लागि सिफरिस गरेको हो । सिफारिस समितिले एक सचिव पदका लागि तीनजनाको सिफारिस गर्नेगर्छ । तीन मध्ये एकजनालाई मन्त्रिपरिषद बैठकले निर्णय गरेर बढुवा गर्न सक्ने व्यवस्था छ ।

महिला आयोगमा सचिव दरबन्दी कटौती गरिएपछि त्यहाँ कार्यरत सचिव अनिल ठाकुर अहिलेसम्म जिम्मेवारीविहिन छन् । यसैगरी केही समयअघि मात्रै सचिवमा बढुवा भएका केवल भण्डारीलाई पनि जिम्मेवारी नदिइएको बताइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा पनि सरकारले कसैलाई पठाउन सकेको छैन । त्यहाँका महानिर्देशक जीवनप्रकाश सिटौलाको अन्यत्र सरुवा भइसकेको छ ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका तीनमध्ये एकलाई सचिवका लागि छनोट गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर रोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको भनाई छ । स्रोतका अनुसार सिफारिस गरिएका तीनमध्ये एकको छनोट प्रक्रिया नै रोकिएकाले अन्य रिक्त पदमा सचिव बढुवा सिफारिस हुन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्