९ ओटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा : ३ वर्षसम्म कुनैपनि खरीद कारोवार गर्न नपाउने
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएको निर्माण व्यवसायीको सूची प्रकाशित गरेको छ ।
कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायीले कुनै पनि खरिद काराेबारमा भाग लिन नपाउने अनुगमन कार्यालयले जनाएको छ ।
प्रतिष्ठा एक्सपोर्ट इम्पोर्ट प्रालीलाई ३ वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । दुग्ध विकास संस्थानले सो व्यवसायीलाई कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो ।
यस्तै आरएस निर्माण सेवा हेटौडालाई पनि डिभिजन सडक कार्यालय चितवनले कालोसूचीमा राख्न भनेको थियो । उसलाई ३ वर्ष कालोसूचीमा राखिएको छ । यता लवमी जनरल अर्डर सप्लायर्स हेटौडालाई पनि हेटौडा सिमेन्ट उद्योगले कालोसुचिमा राख्न कार्यालयलाई लेखी पठाएको थियो । सोही अनुरुप यस व्यवसायीलाइ ३ वर्ष कालोसूचीमा राखिएको छ ।
हिमाल मेडिसर्भलाई एक बर्ष, राना एण्ड पाख्रिन कन्स्ट्रक्सन जेभी हेटौडालाई ३ वर्ष, श्री कृष्ण मञ्जु कन्स्ट्रक्सनलाई ३ वर्ष, श्री कृष्ण चर्तुभुज निर्माण सेवा हेटौडालाई ३ वर्ष, ग्लोबल विजनेस सप्लायर्स सानो भर्याङलाई ३ वर्ष, के एनएस ट्रेडर्स एण्ड विल्डर्स प्रालिलाई ३ वर्ष कालोसूचीमा राखिएको छ ।