राजपा बैठक : विभिन्न कारणहरु देखाएर महाधिवेशनको मिति सार्ने तयारी
काठमाडौं : आज (साेमबार) दिउँसो एक बजे राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा पार्टीको आगामी महाधिवेशनबारे छलफल हुने महासचिव मनिष सुमनले जानकारी दिए ।
राजपाले आगामी वैशाख ७ गते पार्टीको महाधिवेशन गर्ने निर्णय यसअघि गरेकोमा विभिन्न कारणहरु देखाएर महाधिवेशनको मिति सार्ने तयारी गरेको छ। महाधिवेशनको विषयमा बैठकमा छलफल गरी महाधिवेशनको अर्को मिति तय गर्ने महासचिव सुमनले जानकारी दिए ।
बैठकमा सदस्यतासम्बन्धी जिल्लाबाट आएका प्रतिवेदन अध्ययन गर्ने तथा पार्टीका सक्रिय सदस्य र साधारण सदस्यतासम्बन्धी विवरण अनुमोदन गर्ने पनि बैठकको एजेण्डा रहेको छ । शरतसिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक भएपछि पहिलो पटक बस्न लागेको बैठकमा महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु बनाउनेबारेसमेत छलफल गर्ने तयारी गरिएको छ।