Logo
१३ मंसिर २०८१, बिहीबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयल निगमले खर्चदरमा वृद्धि गरेपछि ग्यासको मूल्य बढ्ने तयारीमा

काठमाडौं :  ग्यास व्यवसायीले आगामी चैत २८ गतेदेखि ग्यास उद्योग बन्द र ३० गतेदेखि ग्यास बिक्री वितरण बन्द गर्ने चेतावनी दिएपछि नेपाल आयल निगमले ग्यास उद्योगी डिलरको कमिसन तथा सञ्चालन खर्चदर वृद्धि गरेको छ । शुक्रबार साँझ बसेको सञ्चालक समिति बैठकले उद्योगी, डिलरको कमिसन र सञ्चालन खर्चमा प्रतिसिलिन्डर २७ रुपैयाँ ८८ पैसा वृद्धि गर्ने निर्णय गरेको हो ।

ग्यासको कारोबार आयल निगम नियन्त्रित छ । भारतीय आयल कर्पोरेसन (आइओसी)को रिफाइनरीबाट आयात गर्नेदेखि उपभोक्ता मूल्य निर्धारण गर्नेसम्मको काम आयल निगमले गर्छ । उद्योगीलाई प्रतिसिलिन्डर २ सय ३२ रुपैयाँ ५० पैसा कमिसन र सञ्चालन खर्च निगमले उपलब्ध गराइरहेको छ । प्रतिसिलिन्डर २७.८८ पैसा वृद्धिको निर्णय कार्यान्वयन भएपछि उद्योगीले २ सय ६० रुपैयाँ ३८ पैसा पाउनेछन् । उनीहरूले ४ सय रुपैयाँ कमिसन हुनुपर्ने माग राख्दै आएका छन् ।

निगमका अनुसार उद्योगी र डिलरको कमिसन क्रमशः २ रुपैयाँ र ५ रुपैयाँ प्रतिसिलिन्डरका दरले वृद्धि गरिएको छ । हाल प्रतिसिलिन्डर बिक्रीमा उद्योगीले ३० रुपैयाँ ५५ पैसा र डिलरले ३२ रुपैयाँ कमिसन पाइरहेका थिए ।

त्यस्तै, उद्योगदेखि डिलरसम्म ग्यास ढुवानी हुने भाडादरमा ६ रुपैयाँ वृद्धि गरिएको छ । हाल उद्योगदेखि डिलरसम्मको ढुवानी भाडा २९ रुपैयाँ २० पैसा छ । अब बढाएर ३५ रुपैयाँ ३ पैसा पुर्याइनेछ ।

आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्योगीको माग सम्बोधन गर्न १७ फागुनमा गठित कार्यदलले दिएको सुझाबअनुसार खर्चका शीर्षक वृद्धि गरिएको बताएका छन् । ग्यास उद्योगीको खर्चदरमा वृद्धि गरे पनि उपभोक्ता मूल्यमा असर पर्न नदिने उनको भनाइ छ ।

हाल ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । निगमले खर्चदर बढाएपछि चाँडै ग्यासको सिलिन्डरको मूल्य बढ्ने भएको छ । अहिले उद्योगीहरूले ढुवानी खर्चबापत ३ सय ३२ रुपैयाँ प्रतिसिलिन्डर पाइरहेका छन् । उनीहरूले खर्चदरमा १ सय ६२ रुपैयाँ थपिदिन माग गरेका छन् ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्