वर्षेनी आइरहने चट्याङबाट कसरी जोगाउने ज्यान ?
काठमाडौं : गर्मीको मौसम सुरू भएको छ । चैत वैशाखमा साँझपख हावाहुरी चल्छ। बादल गड्याङगुडुङ हुन्छ । बिजुली चम्कन्छ र चट्याङ पर्छ।
सरकारी तथ्यांकअनुसार नेपालमा वर्षेनी ८२ जना मानिसले चट्याङ लागेर ज्यान गुमाउँछन् । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले चट्याङ पर्ने बेलामा कसरी जोगिने भने केही सुझाव दिएको छ। हेरौँ ती आवश्यक सुझावहरु :
घरभित्र हुँदा
- विद्युतीय सामग्रीहरू टिभी, फ्रिज, कम्युटर, वासिङमेसिन प्रयोग नगर्ने।
- तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने।
- घरबाट बाहिर ननिस्कने।
- धारामा नुहाउने,लुगा धुने र भाँडा माझ्ने काम नगर्ने।
- विद्युतीय सामग्री टिभी, कम्प्युटर आदिको नजिक नबस्ने।
घरबाहिर हुँदा
- अग्लो र एक्लो रूखमा ओत नलाग्ने।
- पौडिने, माछा मार्ने, र्याफ्टिङजस्ता क्रियाकलाप नगर्ने।
- खुला मैदानमा नबस्ने।
- धातुको तारबारको नजिक नबस्ने।
- मैदानमा लमतन्न परेर नसुत्ने वा नखेल्ने।
- मानिसको समूह वा झुन्ड तथा मेला, हाटबजार वा महोत्सवमा नरहने।
- फुटबल, क्रिकेट, गल्फ खेलिरहेको भए तुरून्त बन्द गर्ने।