Logo
२३ भाद्र २०८१, आईतबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय समितिलाई चुनौति दिँदै अनौपचारिक छलफलमा जुटे काँग्रेस जिल्ला सभापतिहरु

काठमाडौं : नेपाली काँग्रेस संस्थापन पक्ष विरोधी खेमाका जिल्ला सभापतिहरु दुई दिने अनौपचारिक छलफलमा जुटेका छन् । काठमाडौंको ठमेलस्थित एक होटेलमा आयोजित छलफलमा संस्थापन विरोधीले आफ्नो रणनीति तय गर्ने बुझिएको छ।

पार्टी विधान अनुसार काँग्रेस केन्द्रीय कार्यसमितिले समसामयिक विषयमा एजेण्डा तय गर्न जिल्ला सभापतिको भेला बोलाउने व्यवस्था छ । तर ठमेलमा आयोजित भेला केन्द्रीय समितिलाई बाइपास गर्दै बोलाइएको हो । महासमिति बैठक अगाडि इतरपक्षका नेताहरुको पहल कदमीमा नुवाकोटको ककनीमा पनि भेला गराइएको थियो ।

उक्त भेलामा संस्थापन पक्षका जिल्ला सभापतिहरुको उपस्थिति न्यून थियो । जसको निष्कर्ष सहितको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको थियो । तर सभापति देउवाले उक्त प्रतिवेदन बुझाउन गएकाहरुलाई हपारेका थिए । आज र भोलिका लागि बोलाइएको भेलामा संस्थापन पक्षले आफ्ना जिल्ला सभापतिहरुलाई उपस्थित नहुने निर्देशन दिएको बताइएको छ ।

गत पुसमा सम्पन्न महासमिति बैठकबाट पारित तथा केन्द्रीय कार्यसमितिबाट अनुमोदित विधानअनुसार पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । यस्तै पार्टीका पूर्वपदाधिकारी तथा सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवारसम्मले एक अवधिका लागि क्षेत्रीय प्रतिनिधि स्वत: हुन पाउने व्यवस्था छ ।

यसलाई विधानबाट हटाउन र आरक्षणको सुविधा दोहोर्याउन नपाउने व्यवस्था राख्न सभापतिहरुले माग गर्दै आएका छन् । उनीहरुले मागलाई बेवास्ता गर्दै महासमिति हुँदै केन्द्रीय कार्यमिति बैठकले पार्टी सभापति देउवाले आफू अनकुल विधान पारित गराएपछि इतरपक्षका जिल्ला सभापतिहरु असन्तुष्ट बनेका छन् ।

 

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्