हिमालयन एयरलाइन्सको उडान युएइको अबुधाबीमा सुरु
काठमाडौं : हिमालय एअरलाइन्सले युएई अबुधाबीमा उडान भर्न सुरु गरेको छ । हिमालय एअरलाइन्सको एच९ ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उडान भर्दै आफ्नो उडान सुरु भएको जनाएको छ ।
प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्वारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्सले उडान भर्नेछ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४८ यात्रु सहित उडेको एअरलाइन्सको एच९ ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशी पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरु गरिएको कम्पनीले जनाएको छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ ।
हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ । कम्पनीले अबुधाबीमा हप्ताको ३ दिन उडान भर्ने जनाएको छ।