लगानी सम्मेलन : विदेशी लगानीकर्ताहरुका लागि नेपाल दोस्रो घर र व्यवसायीक हब बन्ने प्रमको दाबी
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्ताहरुका लागि नेपाल दोस्रो घर र व्यवसायको हब बन्ने दाबी गरेका छन् । काठमाडौँमा आज र भोलि हुन गैरहेकको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउँदै लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन् । उनले नेपालमा पाहुनाहरुलाई भगवानको रुपमा स्वागत गरिने उल्लेख गर्दै नेपालमा लगानीकर्ताहरुका लागि अवसरनै अवसरहरु भएको समेत बताए ।
‘एक वर्षअघि रारा तालको किनारबाट नेपालको विकासको खाका प्रस्तुत गर्दा मैले हाम्रा मित्र तथा हितैसीहरुसँगको सहकार्य आवश्यक रहेको कुरामा जोड दिएको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज यो सम्मेलनमा हाम्रो निमन्त्रण स्वीकार गरेर महत्वपूर्ण कार्यक्रममा सहभागी आउनुभएका मित्रहरुलाई देख्दा निकै खुसी लागेको छ ।’
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कल्पना नभएर पूरा गर्न सकिने दृष्टिकोण भएको बताउँदै यसका लागि सबैको साथ आवश्यक रहेको बताए । उनले अब नेपालमा हिंसाको लागि कुनै स्थान नभएको बताउँदै कानुनी व्यवस्थामा खलल पुर्याउनेहरुलाई कानुन बमोजिम कारवाही गरिने बताए ।
उनले आर्थिक बृद्धिको लागि राजनीतिक स्थायित्व मुख्य आवश्यकता रहेको बताउँदै अहिले देशमा राजनीतिक स्थिरताको साथै नीतिगत रुपमा एकरुपमा रहेको पनि जिकिर गरे । ‘हाम्रो तत्कालीन लक्ष्य भनेको कम विकसित मुलुकको तहभन्दा माथि उठ्ने, मध्यकालिन लक्ष्य भनेको मध्य–आय भएको मुलुकको स्थितिमा पुग्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने हो,’ प्रधानमन्त्रीले भने ।
यसका लागि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय योजनाको आयोगको तथ्यांक अनुसार आगामी पाँच वर्षमा नेपालमा ८८.१८ बिलियन डलर लगानी आवश्यक रहेको बताए । ‘यो आवश्यकता पूरा गर्नका लागि सबैलाई सहयोग गर्न म आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले नेपाल आर्थिक नीति र वैदेशिक लागनी स्वागत गर्न लचिलो मलुक भएको बताउँदै केही क्षेत्रबाहेक सबै क्षेत्रमा लगानी शतप्रतिशत खुला रहेको जिकिर गरे । उनले नेपालको जनसंख्याको ५७ प्रतिशत जनता काम गर्न सक्ने उमेर समूहमा रहेको उल्लेख गर्दै नेपालको कामदारको लागत सस्तो भएको बताए ।
त्यस्तै, नेपालले संघीय प्रणाली अंगिकार गरेको बताउँदै उनले सबै प्रदेशले समान लगानीको अवसर प्राप्त गर्नुपर्नेमा जोड पनि दिए । उनले यसका लागि हरेक प्रदेशमा कम्तिमा एउटा औद्योगिक क्षेत्र खोलिने बताए । प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न जोखिममुक्त रहेको बताउँदै सबैलाई नेपाललाई लगानी गर्न आह्वान गरे ।