व्यवस्थित ढंगले कर्मचारी समायोजन गर्न सरकार सफल : मन्त्री पण्डित
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयतामा जाँदा अरु देशमा कर्मचारी समायोजको काम कठीन हुने भएपनि नेपाल सरकारले भने व्यवस्थित ढंगले कर्मचारी समायोजन गर्न सफल भएको बताएका छन् । ।
सरकारले कर्मचारी समायोजन सम्पन्न भएको घोषणा गरे सँगै बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पण्डितले आफूले मन्त्रालय सम्हालेको १ वर्ष १२ दिनमा कर्मचारी समायोजनको काम पूरा गरेको जानकारी गराए । उनले १ वर्ष अवधिमा ३ तहको संगठन संरचना तयार गरी कामकाज सहज रुपमा सञ्चालन गर्न अस्थायी रुपमा कर्मचारी खटाएको बताए ।
मन्त्री पण्डितले संविधानले दिएको अधिकारको प्रयोग गरी कर्मचारी समायोजनको काम सकिएको पनि बताए । समायोजनका क्रममा कर्मचारीले ठीकसँग अनलाइन फारम नभरेको, समयतालिका अनुसार अनलाइन विवरण समावेश नगरेकोले फागुन ३ लाई टार्गेट गरेपनि चैत १४ मा आएर काम सकिएको उल्लेख गरे ।
उनले कर्मचारीले गरेको जाहेज गुनासोको सम्बोधन गर्ने बताउँदै कर्मचारीलाई पत्र दिने काम पनि भइरहेको बताए । मन्त्री पण्डितले संघीय निजामती सेवा ऐन र स्थानीय सेवा कर्मचारी सेवा ऐन मार्फत कर्मचारीको सेवा सुविधामा कमी नगर्ने उल्लेख गरे ।