Logo
२३ भाद्र २०८१, आईतबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारलाई मन्त्री पुनले दिए यस्तो निर्देशन

काठमाडौँ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिएका छन् । दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगर स्थित आयोजना निर्माणको स्थलगत अध्ययन पछि सरोकारित पक्षसंगको अन्र्तरक्रियामा मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्रिय गौरवको आयोजनामा सरकार, संसददेखि सर्वसाधरण र शेयरहोल्डरको चासो तथा आयोजनाले मुलुकको सिंगो अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने भएकाले यसको निर्माण समयमै सक्नुपर्नेमा उनले सरोकारवालाहरुलाई सचेत गराए । आयोजना निर्माणको क्रममा देखिने साना तिना समस्या समाधानका लागि निर्माण कार्यसंग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उनले मासिक रुपमा कार्यसमिक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

स-सानामा समस्यामा अल्झेर सधै आयोजनाको समय थप गर्दे लैजानु उपयुक्त नहुने भन्दै उनले प्रतिवद्धता अनुसार काम पुरा गर्ने तर्फ सचेत बन्न पनि आग्रह गरे । उनले आन्तरिक छलफलबाट निकास निस्कन नसकेका विषयलाई सरकारले सम्बोधन गर्ने भन्दै २०७६ मंसिरमा परिक्षण उत्पादन सुरु गर्ने गरि निर्माण कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता औल्याए ।

अन्तरक्रियामा आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले रकम अभाव नै आयोजनाको मुख्य समस्या भएको भन्दै रकमान्तर गरेर भएपनि आयोजनालाई आवश्यक बजेटको व्यवस्था मिलाउन मन्त्री पुनसँग आग्रह गरे । फागुन मसान्त सम्ममा आयोजनाको ९८ प्रतिशत निर्माण कार्य पुरा भएको छ ।

४ सय ५६ मेगावाट क्षमताको मुलुककै ठुलो जलविद्युत् आयोजनामा भारतीय, चिनियाँ, यूरोपेली विज्ञहरु र कामदार तथा ठेकेदारहरु संलग्न छन् ।

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्