Logo
५ मंसिर २०८१, बुधबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचारपछि महामतीको नयाँ जीवन : “अब त म पागल छैन नि है”

डोटी : दीपायल सिलगढी नगरपालिका-२ खातिवाडाकी ५६ वर्षीया महामती साउद नयाँ जीवन पाएर आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँका श्रीमान् भागीको ज्यान पनि अहिले हलुङ्गो भएको छ । उहाँ शैलेश्वरी अस्पताल दीपायल पिपल्लाका डा. जेपी गुप्तालाई दिनहुँ आर्शीवाद दिइरहनु हुन्छ । “डा गुप्ताले दिएको नयाँ जीवन पाएकी छु“, मलाई बहुला भन्नेहरु आजभोलि गाली गर्दैनन् होला नि ?” उहाँले भन्नुभयो-“अब त म पागल छैन नि है ।” झण्डै बाह्र वर्ष मानसिक रुपमा प्रताडित महामती उपचारपछि स्वस्थ हुनुभएको छ ।

उहाँ पहिला रातभर बर्बराउने, कराउने, ढुङ्गामुढाले हान्ने, लुगा च्यात्ने व्यवहार गर्नुहुन्थ्यो । गाउँघरमा कसैले भूतप्रेत लागेको, कसैले देउता रिसाएको भने पछि उहाँका श्रीमान् भागीले दुई पटक मन्दिरमा देउता खुशी पार्न र श्रीमती निको पार्न बोका चढाउनुभयो । कयौं पटक कुखुराको भाले पनि काट्नुभयो । देउ पित्तर (धामी झाँक्री) सबैको पूजाआजा गरे पनि महामतीलाई सञ्चो नभएपछि उहाँ निराश हुनुभएको थियो ।

केही महिना पहिले उहाँका श्रीमान्ले उपचारका लागि महामतीलाई दीपायल ल्याउनुभयो । दीपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालका डा गुप्ताको टोलीले १५ दिनसम्म उहाँको नियमित उपचार ग¥यो । अहिले उहाँ स्वस्थ भएर घर फर्किनु भएको छ । “उपचारका लागि त्यहा“ लैजाँदा चार जनाले हातखुट्टा बाधेर लगेका थियौँ”, भागिले भन्नुभयो – “देवी देउता भाकेर पुजेर थाकेपछि मैले अस्पताल लिएर गएको हु“ । उनलाई सञ्चो भएपछि मलाई अहिले असाध्यै खुशी छु ।”

कुनै बेला क्षेत्रीय सदरमुकाम दीपायलका बजारमा नाङ्गै हिँडिरहेका सोही वडाको पुनेबाटा गाउँ बस्ने हरि कठायत आजभोलि पिपल्लामा रहेको रिभरसाइड होटलमा वेटरको काम गरिरहनुभएको छ । उहाँ मानसिक रुपमा पूरै विक्षिप्त हुनुभएको थियो । कुनैबेला उहाँ पनि पिपल्ला बजारमा जो सुकैलाई पनि ढुङ्गामुढा हान्ने, गालीगलौच गर्ने, नाङ्गै हिँड्ने गर्नुहुन्थ्यो ।

दीपायल सिलगढी नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र खड्काले उहाँलाई जीपमा राखेर उपचार गर्न उक्त अस्पतालमा ल्याउनुभयो । करीव दुई महिना लामो उपचार पछि उहाँको स्वास्थ्य अवस्था पनि सामान्य भयो । वडा कार्यालयले उहाँको उपचार खर्चको केही रकम बेहो¥यो । स्वस्थ्य भएपछि उहाँ अहिले जागीर गरिरहनु भएको छ । हाम्रो समाजमा अहिले पनि मानसिक सन्तुलन गुमाउनेलाई शारीरिक रुपमा भएका बिरामीभन्दा फरक रुपले हेर्ने प्रवृत्ति रहेकाले मानसिक रोगीहरुको समयमै उपचार हुन नसकेको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो – “उपचार पाएपछि मानसिक रोग निको हुन्छ भन्ने हामीमा चेतना नहुँदा यहाँ समस्या हुँदै आएको छ ।”

सुदूरपश्चिम प्रदेशमा बिरामी हुँदा देवीदेउतामा बढी भर पर्ने, झारफुकमा विश्वास राख्ने गर्नाले मानसिक रोगीको अवस्था जटिल बन्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् । मानसिक सन्तुलन गुमाउनेहरुको उपचार हुन सक्दैन भन्ने धारणा धेरैमा छ । डोटीमा अझै उपचार नपाएका कयौं यस्ता बिरामी गाउँघरमा प्रशस्त रहेको केआइ सिंह गाउँपालिका–२ का स्थानीय शेरबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो – “ गाउँघरमा उपचार नपाएका मानसिक रोगीको सङ्ख्या अधिक छ । कसले अस्पताल पु¥याउने ? उपचार बिना मर्दैछन्, मानसिक रोगी ।”

शैलेश्वरी अस्पताल दीपायल पिपल्लाका डा गुप्ता मानसिक रोगीहरुको उपचार सम्भव रहेको तर्क गर्नुहुन्छ । “मानसिक रोगी दुई चरणका देखिन्छन्,” डा गुप्ताले भन्नुभयो – “एउटा म्यानिक फेज र अर्को डिप्रेसिक फेज । म्यानिक फेजमा रुने, कराउने, मानिसलाई नचिन्ने हुन्छ भने डिप्रेसिक फेजमा चाँडै आक्रोशित हुने, खाना नखाने, एकान्त मन पराउने हुन्छ । यी दुबैको हामी सहजै उपचार गर्न सक्छौं ।”

शैलेश्वरी अस्पतालले मानसिक सन्तुलन गुमाएका बिरामीहरुका लागि टेली मेडिसिन पद्धतिबाट उपचार सेवा शुरु गरेको छ । शैलेश्वरी अस्पतालका सञ्चालक तथा निर्देशक आइजङ्ग कुँवरले कोहलपुर मेडिकल कलेजका मानसिक रोग विशेषज्ञ डा मोहन बेलबासेसँगको सहकार्यमा नियमित रुपमा दीपायलमै उपचार गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो – “मानसिक रोगीको उपचार हुन्छ । देवीदेउतालाई बोका चढाउनुभन्दा चाँडो अस्पताल ल्याइपु¥याउनोस् ।” डा बेलबासे प्रत्येक महिना दुई पटक बिरामी जाँचका लागि शैलेश्वरी अस्पताल दिपायलमा आउने गर्नुहुन्छ । डोटीमा मानसिक रोगीहरुको सङ्ख्या अत्यधिक रहेको त्यस क्षेत्रमा काम गर्दैआएको गैर सरकारी सँस्था सिड नेपालको तत्थ्याङ्कले देखाउँछ । सिड नेपालले जिल्लाको शिखर नगरपालिका वडा नं १ मुडेगाउ, मुडभरा र पुविर्चौकी गाउँपालिकाको साना गाउँमा वर्षौंदेखि काम गर्दै आइरहेको छ । गत वर्षको तथ्याङ्कअनुसार ती क्षेत्रमा मात्रै कम्तीमा पनि २०४ जना मानसिक रोगी रहेका छन् । सिड नेपालका अध्यक्ष शेरबहादुर मल्लका अनुसार गाउँमा उपचारबारे जानकारी नभएर थुप्रै बिरामीहरु घरमै बसिररहेका छन् ।

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिन्टेन्डेन्ट डा भूषण मिश्रका अनुसार रुघाखोकी लागेमा वा टाउको दुखेमा तुरुन्तै थाहा पाइन्छ तर शरीरको परीक्षण गर्दा नदेखिने रोग मनोरोग हो । यो भिडियो एक्सरे, सिटी स्क्यान, इन्डोस्कोपी, रगत जाँच गर्दा पनि देखिँदैन । विभिन्न स्वास्थ्य समस्या छ तर, स्वास्थ्य जाँचबाट केही देखा परेन भने मानसिक रोग लागेको हुनसक्ने डा मिश्रको तर्क गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ – “मानिस हाँस्ने, खेल्ने, बोल्ने, निद्रा लाग्ने हरेक क्रियाकलापमा परिवर्तन देखा पर्न थालेमा मानसिक रोग लागेको हो कि भनेर शङका गर्न सकिन्छ ।” मानसिक रोग वंशाणुगत कारणले पनि लाग्नसक्ने विज्ञहरु बताउँछन् । आमाबाबुबाट बाल्यावस्थामा टाढा रहनु, आफन्त बित्नु, पारिवारिक सम्बन्ध बिग्रनु, लागुपदार्थ सेवन गर्नु, गर्भावस्थामा सङ्क्रमण हुनु, मस्तिष्कको वृद्धिमा रोकावट आउनु, बसाइँ सर्न बाध्य हुनु, टाउकामा चोटपटक लाग्नु जस्ता कारणले पनि मानसिक रोग निम्तिने गरेको डा बेलबासेले बताउनुभयो ।

उहाँले भन्नुभयो – “मानसिक यसै कारण हुन्छ भन्न सकिन्न, जीवनयापनमा हुने सामान्य घटनाले पनि यो रोग हुनसक्छ तर उपचार सम्भव छ ।” मानसिक रोगीहरुले समाजमा अमिल्दो व्यवहार गर्ने, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी सन्तुलन ठम्याउन नसक्ने हुन्छ । मानसिक रोगीहरुमा अत्यधिक डर लाग्नु, औसत मानिस भन्दा बढी चिन्तित हुनु, सामान्य अप्ठ्याराहरूलाई ठूलै ठान्नु, मुटु काप्ने, श्वास फेर्न गा¥हो अनुभव हुने, जीउ, हातखुट्टा काप्ने, चिटचिट पसिना छुट्ने जस्ता लक्षण दखिन्छन् ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्