‘सन् २०२५ पछि पाकिस्तान भारतको हिस्सा बन्नेछ’
भारतको सबैभन्दा ठुलो संगठन तथा सत्तासिन भारतीय जनता पार्टी (भाजपा) का मातृसंगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का वरिष्ठ प्रचारक इन्द्रेश कुमारले सन् २०२५ पछि पाकिस्तान भारतको हिस्सा बन्ने बताएका छन् । यस सम्बन्धी खबर भारतीय पत्रिका इन्डियन एक्सप्रेसले छापेको छ ।
शनिबार मुम्बईमा भएको कश्मीर सम्बन्धी विषयमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘तपाईँले लेखे हुन्छ, ५-७ वर्षपछि कराँची, लाहोर, रावलपिण्डी वा सियालकोटमा घर किन्ने र व्यवसाय गर्ने मौका मिल्नेछ ।’
उनले अघि भनेका छन्, ‘१९४७ भन्दा पहिले पाकिस्तान थिएन । मानिसहरु भन्छन् १९४५ पहिले त्यो हिन्दुस्तान थियो । २०२५ पछि फेरि हिन्दुस्तान हुनेछ ।’ कश्मीरमा भारत सरकारले पहिलो पटक टफ लाइन लिएको उनले बताएका छन् । उनले भने, ‘सेनाले राजनीतिक इच्छाशक्तिका आधारमा काम गर्छ ।
हाम्रो सपना यो छ कि लाहोर गएर बसौँ अनि कैलाश मानसरोवर जानका लागि चीनसँग इजाजत लिनु नपरोस् । ढाकामा हामीले हाम्रो हातमा चल्ने सरकार बनाएका छौँ । युरोपियन युनियन जस्तो भारतीय युनियन अफ अखण्ड भारत जन्मिने अभियानमा छ ।’