विप्लवमाथि लगाएको प्रतिबन्धमा सचिवालयकै नेताहरु असन्तुष्ट, प्रचण्डसहित पाँच नेताको छुट्टै बैठक
काठमाण्डौं : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ तरङ्ग पैदा भएको छ ।
सरकारको यस्तो निर्णयले सचिवालयकै केही नेताहरु असन्तुष्ट बनेका छन् र, यसबारे नेकपाका शीर्ष नेताहरुमा छलफल सुरु भएको छ । सरकारले एकपछि अर्को गर्दै विवादीत निर्णय गर्नथालेपछि असन्तुष्ट बनेका सचिवालयका नेताहरु र अध्यक्ष प्रचण्ड सहित बुधबार विहान खुमलटारमा बैठक बस्यो ।
बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले बतायो । विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुर्याएको, सांगठनिक एकीकरणका वाँकीकाम अलमलाएको भन्दै असन्तुष्ट चार नेताहरुले अध्यक्ष प्रचण्डलाई नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिनेबारे छलफल भएको स्रोतले बतायो ।
विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयपछि चौतर्फी सरकारको विरोध भएको छ । यसमा सत्तारुढ दलकै दोस्रो तहका केहि नेताहरुको असन्तुष्टि बाहिर आएको छ । तर, यसबारे सचिवालयका शीर्ष नेताहरुको धारणा अहिलेसम्म सार्वजनिक भने भएको छैन । स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफलबिनै एकपछि अर्को निर्णय गर्न थालेको र त्यो गलत हुने भन्दै असन्तुष्ट नेताहरुले अध्यक्ष प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए ।
खुमलटारको भेट लगत्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेका छन् । वालुवाटार स्रोतका अनुसार प्रचण्डको आग्रह अनुसार प्रधानमन्त्री ओलीले बिहिबार असन्तुष्ट चार शिर्ष नेतालाई भेट्ने कार्यक्रम तय गरेका छन् ।