‘एकताको कुरा गर्ने ओलीले लिखित सहमतिमा विखण्डनकारीलाई मान्यता दिए’
काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विखण्डनकारीलाई मान्यता दिएको बताएका छन् । नेता पौडेलले सिके राउतसँग सहमति गरेर सरकारले विखण्डनकारीलाई मान्यता दिएको बताएका हुन् ।
कांग्रेस क्षेत्रीय समिति नवलपरासी क्षेत्र नम्बर १ ले सोमबार आयोजना गरेको कार्यकर्ता भेलामा उनले भने, ‘भाषणमा एकताको कुरा गर्ने ओलीले लिखित सहमतिमा विखण्डनकारीलाई मान्यता दिए ।’
विखण्डनको नारा लगाउँदै आएका राउतलाई मुलधार ल्याएको बताइए पनि सहमतिको भाषा नै उल्टो भएको पौडेलको भनाइ छ । भेलामा बोल्दै उनले वर्तमान सरकार राष्ट्रियता बचाउन असफल भएको बताए । उनले सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको पौडेलको आरोप छ ।
नेता पौडेलले राउतका कार्यकर्ताले आइतबार जनकपुरमा गरेको नारावाजीको विषयमा पनि सरकारले जवाफ दिनुपर्ने बताए । उनको प्रश्न थियो, ‘सरकारले राउतसँग जनकपुरमा नारा लगाउने सम्झौता गरेको हो ?’